मकवानपुर। आमनिर्वाचनको समीक्षात्मक समाचार लेखेको आरोपमा मकवानपुरमा दुई पत्रकारमाथि कुटपिट भएको छ ।
‘आफँहरूलाई पिट्ने व्यक्तिलाई कारबाही माग गर्दै किटानी जाहेरी दिन गएका पत्रकारविरुद्ध दलका कार्यकर्ताले नाराबाजी गरेपछि प्रहरीले जाहेरीसमेत दर्ता गर्न मानेको छैन ।
यही विषयलाई लिएर सोमबार दिनभर जिल्ला प्रहरी कार्यालय मकवानपुर परिसर अशान्त बन्यो । पीडितको समर्थनमा प्रहरी कार्यालय पुगेका पत्रकार र दलका कार्यकर्ताबीच झडपको अवस्था आएपछि जिल्ला प्रहरीले प्रदेश प्रहरीबाट थप सुरक्ष बल मगाएको थियो ।
‘पत्रकारमाथि यस्तो निन्दनीय व्यवहार अहिलेसम्म देखेको थिइनँ, कांग्रेस कार्यकर्ताले समग्र पत्रकारमाथि तथानाम बोले, प्रहरी सुरक्षा घेराभित्रै हातपातकै अवस्था भयो, हामी दिनभर त्यही नरजबन्दजस्तै अवस्थामा रह्यौ एक पत्रकारले भने, ‘अझै पनि जाहेरी दर्ता नगर्ने प्रहरीलाई दलको दबाब माथिबाटै आएको छ ।’
‘नेपाली कांग्रेसभित्र आन्तरिक द्वन्द्व रहेको र अन्तर्घातकै कारण गत निर्वाचनमा गठबन्धनले हार बेहोर्नुपरेको समीक्षात्मक समाचार लेखेका कारण आपसमा भनाभनपछि हातपात भएको हो ।
कांग्रेस बाग्मती प्रदेश सभापति एवं मकवानपुर १ (ख)बाट निर्वाचित प्रदेश सांसद इन्द्रबहादुर बानियाँविरुद्ध समाचार लेखेको भन्दै पत्रकारमाथि कांग्रेस कार्यकर्ताले कुटपिट गरेको पीडित पत्रकारले बताएका छन् ।
बाग्मती एक्सप्रेस साप्ताहिकमा आएको समाचार विषयमा विवाद हुँदा प्रकाशक रमेश बन्जारा इन्द्र र पत्रकार रामकुमार रिजाल एलनमाथि कुटपटि भएको हो ।
हेटौंडास्थित एक होटलमा आइतबार राति करिब सवा ९ बजेको समय कांग्रेसका राजेश भेटवाल नेतृत्वमा आएको समूहले ‘आफूहरूलाई एक्कासी कुटपिट गरेको पत्रकारको आरोप छ । करिब दर्जन कार्यकर्ताले बन्जारा र एलनमाथि आक्रमण गरी घाइते बनाएका बताइएको छ ।
घाइते दुई पत्रकार भेटवाल, राजु नगरकोटी, रञ्जन बनियाँसहितको नाम उल्लेख गरी ज्यान मार्ने उद्योगमा किटानी जाहेरी दर्ता गर्न प्रहरी कार्यालय पुगेका थिए । तर, प्रहरीले किटानी जाहेरी दर्ता गर्न आनाकानी गरेको छ ।