काठमाडौं। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचन नतिजा लगभग आइसकेको छ । प्रत्यक्षतर्फ शनिबार स्याङ्जा-२ को नतिजा आएको छ भने दोलखा र बाजुरामा मतगणना जारी छ ।
स्याङ्जा-२ मा कांग्रेस नेता धनराज गुरुङ निर्वाचित भएका छन् । उनले निकटतम प्रतिस्पर्धी एमालेकी पद्मा अर्याललाई ५ हजार २७ मतान्तरले हराएका हुन् । गुरुङले ३१ हजार ४६६ र अर्यालले २५ हजार ८३९ मत आफ्नो पक्षमा पारे। त्यसैगरी बाजुरा (क) बाट प्रदेशसभा सदस्यमा नरेशकुमार शाही विजयी भएका छन् ।
समानुपातिकतर्फ पनि मतगणना अन्तिम चरणमा पुगेको छ । घोषित नतिजाअनुसार संघदेखि प्रदेशसम्म एक दलको बहुमतको सरकार बन्ने सम्भावना छैन। मिलीजुली सरकार बन्ने अवस्था देखिएको छ । प्रमुख दलका शीर्ष नेताहरू संघ र प्रदेशमा समीकरण मिलाएर सरकार बनाउने कसरतमा लागेका छन् ।
प्रदेशमा निर्वाचित दलका प्रभावशाली नेताहरू मुख्यमन्त्री र मन्त्री बन्न लागिपरेका छन् । सातै प्रदेशमा मुख्यमन्त्रीका लागि वर्तमान सत्ता गठबन्धनका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी (नेकपा एस) भित्र ‘प्याकेजमै सहमति’ खोज्ने आवाज उठिरहेको छ ।
कांग्रेसभित्र ७ वटै प्रदेशमा मुख्यमन्त्रीका आकांक्षी देखिएका छन् । माओवादी केन्द्र र नेकपा एस भागबन्डा मिलाएर सरकार गठन गर्नुपर्नेे पक्षमा छन् । एमालेमा पनि मुख्यमन्त्रीका दाबेदार धेरै देखिएका छन् । मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) र सिके राउत नेतृत्वको जनमत पार्टीले पनि मुख्यमन्त्रीमा दाबी गर्ने देखिएको छ ।
निर्वाचनबाट सबै प्रदेशमा उपस्थिति देखाएको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले भने अहिलेसम्म मुख्यमन्त्रीका लागि मुख खोलिसकेको छैन । प्रदेशमा मुख्यमन्त्रीका आकांक्षीहरू पार्टीका शक्ति केन्द्र रिझाउनेदेखि लिएर संसदीय दलमा आफ्नो पक्षमा बहुमत जुटाउने कसरत गरिरहेका छन् । आजको नागरिक दैनिकबाट