काठमाडौं ।१० वर्षे शसस्त्र द्वन्द्वबाट शान्तिप्रक्रियामा आउँदै गर्दा माओवादी नेतृत्व र आन्दोलनप्रति आम जनतामाझ धेरै अपेक्षा थिए। परम्परावादी शक्ति र दलप्रति बढ्दो अविश्वास र असन्तुष्टिबीच नयाँ दलका रूपमा माओवादी उदाउँदा निम्नवर्गीय ग्रामीण समुदायले मात्र होइन, सहरिया जनताले पनि उसलाई पत्याएका थिए।
२०६४ सालमा भएको संविधानसभाको पहिलो निर्वाचनमा काठमाडौंमा माओवादीसँग सहकार्य गर्न नमान्दा एमाले शून्य भयो । भर्खर शान्तिपूक्रियामा आएकोे माओवादी एक्लैले काठमाडौंमा सात सिट जित्यो।
पहिलो संविधानसभा निर्वाचनबाट सबैभन्दा ठुलो दलका रूपमा उदाएको नेकपा माओवादीले प्रत्यक्षतर्फ १२० सिटसहित ३१ लाख ५४ हजार ५१९ र समानुपातिकतर्फ १०० सिटसहित ३१ लाख ४४ हजार २०४ मत पाएको थियो। माओवादी एक्लैले प्रत्यक्षतर्फ ५० प्रतिशत सिटमा जित हासिल गरेको थियो।
संसदीय राजनीतिमा प्रवेश गरेसँगै निरन्तर सत्ताको वरिपरि घुमिरहेको माओवादी दोस्रो संविधानसभाको निर्वाचन अर्थात् २०७० सालमा भने पहिलोबाट एकैपटक तेस्रो दल हुन पुग्यो। उक्त निर्वाचनमा एकीकृत नेकपा माओवादी १६ लाख ९ हजार १४५ मतसहित २६ सिटमा खुम्चिन पुग्यो। २०७० सालको निर्वाचनअघि विभाजनको सिकारसमेत भएको पार्टीले समानुपातिकतर्फ पनि १४ लाख ३९ हजार ६०९ मतसहित ५४ सिट जितेको थियो।
२०७४ सालको संसदीय निर्वाचनमा नेकपा एमालेसँग वाम गठबन्धन गरेको माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३६ सिट र समानुपातिकमा १७ सिट जित्दै तेस्रो दलकै हैसियत बनाएको थियो। निर्वाचनलगत्तै एमालेसँग पार्टी एकीकरण गरेर नेकपामा परिणत भए पनि अदालतको निर्णयले छुट्टाछुट्टै पार्टीमा विभक्त भएपछि माओवादी केन्द्रले संसद्मा तेस्रो दलकै भूमिका निर्वाह गरिरह्यो।
हालै सम्पन्न निर्वाचनमा लोकतान्त्रिक वाम गठबन्धनमार्फत निर्वाचन लडेको माओवादी केन्द्र संसद् संख्याका हिसाबले थप खुम्चिएको छ। प्रत्यक्षतर्फको मतगणना अन्तिम चरणमा पुग्दै गर्दा माओवादी केन्द्रले प्रत्यक्षतर्फ १७ ठाउँमा जित हात पारेको छ भने दोलखामा जरी मतगणनामा अग्रता लिएको छ । समानुपातिकतर्फ पनि माओवादीले जित्ने सिटसंख्या १४ आसपास हुने देखिएको आजको नागरिक दैनिकमा खवर छ ।