काठमाडौं। तराई मधेसकेन्द्रित जनमत पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) वर्तमान सत्ता गठबन्धनकै नेतृत्वमा संघमा बन्ने नयाँ सरकारमा जान तयार भएका छन्।
जनमत पार्टीका अध्यक्ष सिके राउतले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग बालुवाटारमा भएको भेटवार्तामा वर्तमान सत्ता गठबन्धनसँग सरकारमा सहकार्य गर्न सहमति जनाएका छन्। कांग्रेसका नेता विमलेन्द्र निधिले बिहीबार साँझ ट्विट गर्दै जनमत पार्टी वर्तमान सत्ता गठबन्धनको सरकारमा संलग्न हुने सहमति भएको जनाएका छन। ट्विटमा निधिले लेखेका छन्, ‘गठबन्धन र कांग्रेससँग संघीय र प्रदेश दुवै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ।’
प्रधानमन्त्री देउवासँग भेट गर्नुअघि बिहीबार दिउँसो राउत र निधिबीच छुट्टै कुराकानी भएको थियो। त्यसपछि राउतलाई लिएर निधि प्रधानमन्त्री निवास बालुवाटार गएका थिए। जनमत पार्टीले प्रतिनिधिसभामा प्रत्यक्ष्यबाट एक सिट जितेको छ। जित्ने पार्टी अध्यक्ष राउत हुन्। जनमत पार्टी राष्ट्रिय दलको मान्यता पाउने निश्चित भएको छ। प्रतिनिधिसभा समानुपातिक निर्वाचनतर्फ उसले ३ प्रतिशतको थ्रेस होल्ड कटाएको छ। समानुपातिकसहित प्रतिनिधिसभामा जनमत पार्टीका सांसद ५ देखि ६ सम्म हुने अनुमान गरिएको छ।
स्रोतका अनुसार जनमत पार्टी वर्तमान सत्ता गठबन्धनसँग सहकार्य गरी मधेस प्रदेशमा पनि सरकारमा सहभागी हुन तयार भएको छ। प्रदेशतर्फ मधेस प्रदेशमा जनमत पार्टी प्रत्यक्ष्यतर्फ ६ क्षेत्रमा विजयी भएको छ। जनमत पार्टी स्रोतका अनुसार मधेस प्रदेशमा उसले मुख्यमन्त्रीको दाबी गरेको छ। नागरिक दैनिकबाट