बाजुरा र स्याङ्जा–२ मा मतगणना सुरु गर्न आयोगको निर्देशन

काठमाडौँ । निर्वाचन आयोगले बाजुरा र स्याङ्जा–२ मा मतगणना सुरु गर्न निर्देशन दिएको छ । आयोगको बुधबार बसेको बैठकले स्याङ्जा–२ र बाजुरामा मतगणना सुरु गर्न सम्बन्धित निर्वाचन आधिकृतको कार्यालयहरुलाई निर्देशन दिएको हो ।

आयोगले मंसिर ४ गते भएको निर्वाचनलाई नै सदर गर्दै मतगणना सुरु गर्न निर्देशन दिएको छ । स्याङजा २ चापाकोट नगरपालिकाका ४ वटा मतदान केन्द्रमा नेपाली कांग्रेसले बुथ कब्जा गरेको भन्दै नेकपा एमालेसहित अन्य राजनीतिक दलहरुले पुनः मतदानको माग गरेका थिए ।

त्यसैगरी बाजुराको विभिन्न मतदान केन्द्रमा समेत बुथ कब्जा भएको भन्दै एमालेले पुनः मतदान गर्नुपर्ने निवेदन दिएको थियो ।

बुथ कब्जा गरेर मृत्यु भएका र विदेशमा रहेका मतदाताको नाममा पनि मत खसालेको भन्दै सुरु भएको स्याङ्जा–२ को विवाद जिल्लास्तरबाट सुल्झन नसकेर आयोगमा आइपुगेको हो ।

बाजुरामा एमालेले ८ र कांग्रेसले १६ ठाउँमा बुथ कब्जा गरेको एकअर्काको आरोप छ । बाजुराकै बुढीनन्दा–५ मा स्थगित मतदान भइसकेको छ । बाजुराको त्रिवेणी–७ को मतदानस्थलमा विवाद हुँदा प्रहरीको गोली लागेर सञ्जीव अयडीको मृत्यु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *