उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो)ले युक्रेनलाई थप हतियार उपलब्ध गराउने र रुसी क्षेप्यास्त्र तथा ड्रोन हमलाका कारण क्षतिग्रस्त महत्वपूर्ण ऊर्जासम्बन्धी पूर्वाधार मर्मत गर्न सहयोग पुर्याउने जनाएको छ ।
बुकरेस्टमा भएको सम्मेलनमा उक्त सैन्य सङ्गठनका प्रमुख यान्स स्टोलटेनबेर्गले मस्कोले जाडोयामलाई युक्रेन युद्धको हतियारको रूपमा प्रयोग गर्न खोजेको आरोप लगाए । रुसी आक्रमणहरूका कारण लाखौँ युक्रेनी चिसोबीच विद्युत् र खानेपानीबाट वञ्चित भएका छन्।
..युक्रेनले नेटो समक्ष महिनौँदेखि परिष्कृत वायु प्रतिरक्षा प्रणालीको माग गर्दै आएको छ । जेनेभा महासम्धी अनुसार नागरिकमाथि वा उनीहरूको अस्तित्वलाई आवश्यक महत्वपूर्ण पूर्वाधारलाई आक्रमण गर्नु युद्ध अपराध हो ।
यसै साताको सुरुवातमा युक्रेनका अभियुक्तविरुद्ध कानुनी प्रक्रियाको नेतृत्व गर्ने एक जना सरकारी अधिकारीले बीबीसीसँग रुसी आक्रमणहरूलाई नरसंहारको संज्ञा दिएका थिए ।
बर्लिनमा आयोजित एक समारोहमा विश्वका धनी राष्ट्रहरूको जी सेभेन समूहका न्याय मन्त्रीहरूले युक्रेनमा भएको कथित युद्ध अपराधको अनुसन्धानमा समन्वय गर्ने बताएका छन् ।
यसै वर्षको फेब्रुअरी २४ मा युक्रेनमाथि पूर्ण आक्रमणको आदेश दिएका रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले र क्रेमलिनका अन्य वरिष्ठ अधिकारीहरूले भने रुसी सेनामाथि युद्ध अपराधको आरोपको खण्डन गर्दै आएका छन् ।
मङ्गलबारको फरक घटनाक्रममा युक्रेनकी प्रथम महिला ओलेना जेलेन्स्काले बेलायतको संसद्मा सांसदहरूसँग युक्रेनीहरू दोस्रो विश्वयुद्धमा बेलायतले भोगेजस्तै आतङ्कबाट गुज्रिरहेको बताइन् ।