ओलीको प्रश्नः अमेरिकन फ्रिडम पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह किन उस्तै ?

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह अमेरिकन फ्रिडम पार्टीको चुनाव चिन्ह जस्तै भएको भन्दै कटाक्ष गरेका छन् ।

मंगलबार जनसांस्कृतिक महासंघद्वारा पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित बधाई तथा शुभकामना कार्यक्रममा अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्हबारे प्रश्न उठाएका हुन् ।

उनले भने, ’अमेरिकामा एउटा अमेरिकन फ्रिडम पार्टी छ। त्यसको चिह्न घण्टी छ। दुरुस्तै आकारको फोटो खिचेजस्तो घण्टी यहाँ ल्याएको छ। तर फ्रिडम पार्टी । यो संयोग नै होला ?’ अध्यक्ष ओलीले पहिले सुकेको घण्टी अहिले बेलुन झै फुलेको बताए ।

उनले भने, ’अस्तिसम्म स्याप्प थियो त्यो बेलुन, कसैले हावा नहाली त हुप्प भएन होला । कसै न कसैले त पक्कै हावा भरिदिएको हुनुपर्छ।’ उनले नेपालमा पश्चिमावाद आउन सक्ने भन्दै चिन्ता व्यक्त गरे ।

उनले चुनावमा हुलदंगा गरेर र मान्छे मारेर नागरिकलाई मतदान गर्नबाट वञ्चित गरेको आरोप लगाए । अध्यक्ष ओलीले बाजुरामा विद्यार्थी मारिएको र हत्यामा संलग्नलाई कारबाही गर्न माग गर्नेलाई नै प्रशासनले पक्राउ गरेका आरोप लगाए ।

उनले बल प्रयोगबाट सुकुम्बासी समस्याको समाधान नहुने बताए । उनले नदी किनारामा छाप्रो बनाएर बसेका सुकुम्बासी शत्रु नभएको भन्दै त्यसअनुसार बल प्रयोग गर्न गलत भएको बताए ।

उनले भने, ‘लोकतन्त्रमा समस्या समाधानको तरिका बल प्रयोग होइन । तरिका फरक हो । उचित समाधान दिनु र कुनै पनि कुरालाई तर्कपूर्ण तरिकाले समाधानमा पुर्याउनु प्रमुख कुरा हो ।’

ओलीले सुकुम्बासीमाथि गरिएको व्यवहार लोकतान्त्रिक आचारणअनुसार नभएको बताए । उनले समस्या गर्न सुकुम्बासी आयोगलाई अघि ल्याउनु पर्ने बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *