अव्यवस्थित पार्किङले काठमाडौं अस्तव्यस्त

काठमाडौं । अव्यवस्थित बस पार्किङले सङ्घीय राजधानी काठमाडौंं अस्तव्यस्त र कुरूप बन्दै गएको छ। राजधानी आवतजावत गर्ने दिवा तथा रात्रि सेवाका बस जथाभावी पार्किङ गर्दा राजधानी सहर अस्तव्यस्त बन्दै गएको हो।

बसहरू गोङ्गबुस्थित नयाँ बसपार्कमा मात्र पार्किङ गर्नुपर्ने प्रावधान रहे पनि विशेष गरी चक्रपथ वरिपरिका गल्ली, ग्यारेज, पेट्रोल पम्प, निजी तथा सार्वजनिक जग्गा, पेप्सीकोला, तीनकुने, पनौती, बनेपा, जोरपाटी, गौशाला, पशुपति क्षेत्रस्थित सडक किनारलगायतका ठाउँमा अव्यवस्थित रूपमा पार्किङ गर्ने गरेको पाइएको छ। व्यवस्थित सहर बनाउने भन्दै मूल सडक र सडकपेटीमा राखिएका पसल तथा संरचना केही समययता हटाउन सुरु गरिए पनि सडकछेउमा जथाभावी गरिने पार्किङ हटाउन कहीँकतैबाट पहल भएको देखिँदैन।

दैनिक करिब नौ सयको हाराहारीमा काठमाडौं उपत्यका भित्रिने र बाहिरिने दिवा तथा रात्रि बस व्यवस्थापनका लागि यातायात व्यवस्था विभाग, यातायात व्यवस्था कार्यालय, सवारी परीक्षण कार्यालय र ट्राफिक प्रहरी कार्यालय सक्रिय रहेका भनिए पनि बस पार्किङको व्यवस्थापन भएको देखिँदैन। ट्राफिक व्यवस्थापनका लागि उपत्यकामा एक हजार सात सय ट्राफिक प्रहरी परिचालन गरिएको छ।

राजधानी आवतजावत गर्ने बसको ‘रुट परमिट’मा एकरूपता हुन नसक्दा तथा एकद्वार प्रणाली लागू हुन नसक्दा अव्यवस्थित पार्किङको समस्या सिर्जना भएको सरोकारवालाको भनाइ छ। सङ्घ र प्रदेश दुवै तहबाट ‘रुट परमिट’ दिएको पाइएको छ। गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *