निर्वाचनले बस खचाखच : शुक्रबार मात्र करिब डेढ लाख बाहिरिए

काठमाडौं। प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनका लागि काठमाडौं उपत्यकाबाट बाहिरिने यात्रुको संख्या ह्यात्तै बढेको छ। शुक्रबार मात्र करिब डेढ लाख मानिस बाहिरिएको अनुमान छ। बालाजु बसपार्क, कोटेश्वर, कलङ्की, गौशालालगायतका क्षेत्रबाट जिल्ला फर्कने यात्रुको शुक्रबार बिहानैदेखि भीड लागेको थियो।

अघिल्लो दिनको तुलनामा शुक्रबार बढी नै रहेको उपत्यका ट्राफिक प्रहरी महाशाखाले जनाएको छ। शुक्रबार मात्रै करिब डेढ लाख यात्रु बाहिरिएको महासङ्घका वरिष्ठ उपाध्यक्ष सिटौलाको दाबी छ। उनका अनुसार निर्वाचनका अवसरमा करिब ४० प्रतिशत यात्रु बढेका छन्।

निर्वाचन आयोगका अनुसार मङ्सिर ३ गते दिउँसोसम्म सार्वजनिक यातायात सञ्चालन हुने छन् । ३ गते राति र ४ गते मतदान सम्पन्न नहुँदासम्म अत्यावश्यकबाहेकका सार्वजनिक यातायात सञ्चालन गर्न पाइने छैन।

काठमाडौंबाट बाहिरी जिल्ला जानेका कारण नियमित रूपमा चल्नेमध्ये करिब ६० प्रतिशत बस रिजर्भ भएका छन्। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अनुसार ती बस सम्बन्धित पार्टीका भ्रातृ सङ्गठन, सम्पर्क समन्वय समितिहरू र उम्मेदवारबाट समेत बस रिजर्र्भ भएका हुन्। यो समयमा आफैँ टिकट काटेर जाने यात्रुको सङ्ख्यामा पनि वृद्वि भएको छ।

अन्तरप्रदेशमा सञ्चालित बसमा पनि यात्रुको चाप बढेको छ। सार्वजनिक मात्र नभई निजी सवारीसाधनमा पनि यात्रु ठूलो सङ्ख्यामा बाहिरिएका छन्। तर सम्बन्धित रुटमा चल्ने बसहरू नै रिजर्भ भएका कारण यात्रुलाई कुनै सास्ती नभएको महासङ्घको दाबी छ। काठमाडौँबाट दैनिक दुईवटा मात्रै बस चल्ने जिल्लामा समेत अहिले २७ वटासम्म बस रिजर्भ भएका छन्। गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *