‘उलटफेर’को खेल नबनोस् मौन अवधि

लहान। निर्वाचन कार्यक्रमअनुसार आइतबार हुने निर्वाचनका लागि बिहीबार राति १२ बजेबाट मौन अवधि सुरु भएको छ। निर्वाचन आचारसंहिताले मौन अवधिमा प्रचारप्रसारलगायत निर्वाचनसम्बन्धी कुनै पनि गतिविधि गर्न नपाउने गरी रोक लगाएको भए पनि निर्वाचन क्षेत्रमा मौन अवधिकै बीच गुपचुप रूपमा मत आफ्नो पक्षमा पार्ने कसरत चुलिन्छ। यही अवधिमा अधिकांश चुनावी आंकलन ‘उलटफेर’ हुने गरेको विगतको अनुभव छ।

मधेसको चुनावमा मौन अवधिलाई ‘नतिजा बदल्ने रात’ का रूपमा लिइन्छ। प्रतिस्पर्धामा रहेका उम्मेदवारले तटस्थ मत र विपन्न बस्तीका मतलाई खरिद गर्न मोलतोल यही अवधिमा हुने गर्छ।

अन्तिम अवस्थामा पनि नतिजा उलटपुलट हुन्छ मधेसमा। यही अवधिको कसरतले जित्ने पक्का भनिएको उम्मेदावरलाई पछारेर अर्को उम्मेदवार अघि बढेका र अप्रत्यासित परिणाम आएका उदाहरण थुप्रै छन्। यो खेल मौन अवधिको रातबाट सुरु भई चुनावको अघिल्लो रातसम्म चल्छ। आसन्न निर्वाचनमा उम्मेदवार अधिकांश पैसावाला भएकाले मौन अवधिमा विगतको भन्दा बढी रकमको चलखेल हुने जानकारहरू बताउँछन्। मधेसको चुनावी अंकगणित मौन अवधिमै तय हुने गरेको ती जानकारले सुनाए।

समुदायका अगुवाले आफ्नो पकड क्षेत्रका मत अहिले पनि आफूले चाहेको उम्मेदवारका पक्षमा खसालिदिन सक्छन्। त्यस्ता मत हासिल गर्न उम्मेदवारले उनीहरूलाई निश्चित रकम दिन्छन्। अगुवाले कति मत प्रभावित पार्न सक्छन्, त्यसैका आधारमा मौन अवधिमा उसलाई एकमुष्ट रकम उपलब्ध गराउँछन् उम्मेदवारले। ‘कतिपय अगुवाले पैसा लिएको उम्मेदवारको पक्षमा तोकेरै यति मत खसाल्न लगाउँछु भनेर लिखितरूपमै सकारेका हुन्छन्,’ एक राजनीतिकर्मी भन्छन्, ‘रकम लिए जति त्यस क्षेत्रबाट भोट नआउँदा निर्वाचनपछि पैसा फिर्ता माग्ने चलनसमेत छ।’ गत स्थानीय तह निर्वाचनमा सुखिपुर नगरपालिकाको बनिनियाँ गाउँमा भोट नदिनेसँग पैसा फिर्ता लिएको स्थानीय विनोद यादवले बताए।

यही विषयमा धेरै स्थानमा मारपीट भएको उदाहरण छन्। आफूले नजित्ने देखेपछि प्रतिस्पधामा रहेको अर्का उम्मेदवारलाई प्रचारप्रसार खर्चमा केही रकम थप लिएर सघाउने चलन पनि छ।
गोलबजार नगरपालिका १० धोवियाधारको डिलमा रहेको मुसहर बस्ती पनि राजनीतिक रूपमा ‘मौन’ छ। कुनै दलप्रति प्रतिबद्ध नभएकैले विभिन्न राजनीतिक दलले यस्ता मत आफूतिर तान्न मौन अवधि उपयोग गरिरहेका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *