एमाले नेता किरण गुरूङ्ग भन्छन्ः जनताको विकासको चाहनालाई पूरा गर्छु

राजन उपाध्याय, दुलेगौँडा । नेकपा एमालेका स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य उम्मेदवार किरण गुरुङ्गले आफ्नो पहिलो प्राथमिकता विकास निर्माण रहेको बताएका छन् ।

मतदाताको घरदैलो कार्यक्रममा घिरिङ गाउँपालिकाका विभिन्न क्षेत्रमा पुगेका नेता गुरुङले भने, ‘यहाँहरुले विकास निर्माणको विषयमा देखाउनुभएको चासोलाई सम्मान गर्छु । अर्थमन्त्री र प्रदेश सभा सदस्य हुदा धेरै काम शुरु गरेका थियौं । अधुरा कार्य र नयाँ योजना पुरा गर्नेछु ।’

उनले वर्षौसम्म हिलाम्मे र धुलाम्मे रहेको भिमाद–भिरकोट जोड्ने श्रृंगपथ आफू प्रदेश सभा निर्वाचित भएर आएपछि काम भएको स्मरण गराए । ‘घिरिङ आउनै मुस्किल थियो । विभिन्न कारणले सडक अलपत्र अवस्थामा थियो,’ उनले अगाडि भने, ‘निर्माण व्यवसायीलाई बारम्बार ताकेता र ध्यानाकर्षण गराएपछि यत्तिको अवस्थामा आएको हो ।’

सो अवसरमा उनले अधुरा योजना पुरा गर्ने योजनाका साथ मतदाताकोबीचमा आएको प्रष्ट पारे । उनले एमाले नेतृत्वको सरकाले गाईघाट–ऋषिङ–चापाकोट गल्याङ रणनितिक सडकलाई प्राथमिकतामा राखेको स्मरण गरे । साथै मानपुर–डेढगाउँ र मानपुर–बैडी सडकखण्ड कालोपत्रे हुने जानकारी दिए ।

कार्तिक १७ का दिनदेखि मतदाताको घरदैलो कार्यक्रम सुरु गरेका नेता गुरुङ तनहुँ २ निर्वाचन क्षेत्रका अधिकांश वडामा पुगिसेका छन् । यस क्षेत्रमा शुक्लागण्डकी, भिमाद, म्याग्दे, व्यास, रिसिङ र घिरिङका ४३ वडा पर्दछन् ।

तनहुँ २ प्रदेश २ का उम्मेदवार केदार सिग्देलले स्थानीय, प्रदेश र संघीय सरकारसँग समन्वय गरि विकास निर्माण कार्य अघि बढ्ने बताए । उम्मेदवार गुरुङ र सिग्देलसहितका नेताहरु मंगलवार घिरिङ–१ को कटहर, वडा नंं २ को गजरकोट,काठेकोट,माहुरकोट, भुबरकोट,कोलाडाडा, सुनपानी, वाकथोक, डाडाथोक, पोखरी छाप, नेवापनिलगायतका क्षेत्रमा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *