खोटाङ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनअन्तर्गत खोटाङमा प्रतिनिधिसभा सदस्य पदमा वाम–लोकतान्त्रिक गठबन्धन र नेकपा (एमाले)का उम्मेदवार बीचमा नै प्रतिस्पर्धा हुने भएको छ ।
गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का रामकुमार राई ‘पासाङ’ र नेकपा एमालेबाट विशाल भट्टराई उम्मेदवार छन् । विसं २०६४ मा क्षेत्र नं १ बाट तत्कालीन संविधानसभा सदस्य र २०७४ मा प्रदेशसभा (२)बाट राई निर्वाचित भएका थिए । विसं २०५६ र २०६४ को निर्वाचनमा पराजित भएका भट्टराई विसं २०७० र २०७४ मा विजयी भएका थिए ।
प्रतिनिधिसभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टीका सर्जु श्रेष्ठ, नेपाल मजदुर किसान पार्टीका भोजराज बस्नेत, मङ्गोल नेशनल अर्गनाइजेशनका दीपक मगर, आमूल परिवर्तन मसिहा पार्टी नेपालका चन्द्रमणि राई र स्वतन्त्रका जयन्द्रकुमार राई उम्मेदवारी दिएका छन्। प्रतिनिधिसभा र प्रदेशसभा (१)मा स्वतन्त्रसहित आठ–आठ तथा प्रदेशसभा (२)मा छ नेता चुनावी मैदानमा उत्रिएका छन् ।
एक लाख ४२ हजार सात सय ९२ मतदाता रहेको जिल्लामा वाम–लोकतान्त्रिक गठबन्धन र एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।