मरेको चितुवामा धामी जाग्दा…

डडेल्धुरा । डडेल्धुराको अजयमेरुमा मरेको चितुवालाई लिएर स्थानीय र वनका कर्मचारीबीच अनौठो रस्साकस्सी चलेको छ। स्थानीयवासी मरेको चितुवामा धामी चढेपछि जात्रा गरिरहेका छन्। यता, वन कार्यालयका कर्मचारी उक्त मृत चितुवा लिन गएकोमा सफल हुन सकेका छैनन्।

शनिबार मरेको चितुवा फेला परेपछि त्यसमा धामीलाई सवार गराएर मन्दिर लगेका थिए। त्यसको सुरुवात भने अझै एक दुई दिनअघिकै हो। स्थानीयका अनुसार अजयमेरु गाउँपालिका–६, कनाकोटमा रहेको डागेश्वरी मन्दिरमा २५ गते शुक्रबार मेला लाग्यो। त्यसको अघिल्लो दिन बिहीबार रतेडी (राति लाग्ने) मेला लागेकोमा २५ गते दिउँसेडी (दिउँसो लाग्ने) मेला भव्यतासाथ सम्पन्न भयो। गाडेश्वरीमा आठ वर्षपछि पूजाआजासहित मेला लागेको हो।

जिल्लाका सातवटा पालिकासँगै छिमेकी जिल्ला बैतडीको तल्लोस्वराड क्षेत्र, भारतको उत्तराखण्डबाट पनि आठ वर्षपछि लागेको मेला भर्न मानिस आएका थिए। विभिन्न टोलबाट निस्केका चौलोपुजारी गाउँभण्डार घरको खलाबाट भागेश्वरी माताको दरबारमा पुगेका थिए। डागेश्वरी मन्दिरनजिकै रहेको गङ्गेश्वर भन्ने स्थानमा झन्डै दुई दशकपछि एक युवक काम्न थालेको डागेश्वरी सनातन धर्म सेवा समिति कानाकोटका अध्यक्ष रामदत्त पन्तले बताए।

कामिरहेको युवकलाई स्थानीय केही व्यक्तिले मादकपदार्थ सेवन गरेर काम्न थालेको भन्दै आलोचना गरे। पन्तले सुनेको आधारमा भने, “तर उहाँ धामीजस्तै काम्न थाल्नुभएको थियो।” डागेश्वरी सनातन धर्म सेवा समिति कानाकोटका सचिव विष्णुदत्त पन्तका अनुसार ती व्यक्तिले कामेरै भाका दिएका थिए। दुई दिनभित्र दुनियाँलाई थाहा हुनेगरी केही देखाउने धामीले बताएको उनले जानकारी दिए।

उनका अनुसार त्यसो भनेको दोस्रो दिन डागेश्वर मन्दिरनजिकै देउवल माविबाट गालमटेला जाने बाटोमा एक चितुवा मृत अवस्थामा फेलाप(यो। धामीले दिएको भावको आधारमा चितुवा मरेको स्थानीयको बुझाइ रहेको उनले बताए। त्यसपछि आइतबार बिहानै बाजागाजासहित देउवल गाउँबाट गङ्गेश्वरद्वार रहेको भण्डारीगाउँका लागि मरेको चितुवा र गङ्गेश्वरको धामीलाई लगियो। त्यसरी लैजाँदा मरेको चितुवामाथि धामीलाई बसाएर भण्डारीगाउँ हुँदै डागेश्वरी मन्दिरमा पु(याइयो।

धार्मिक शक्तिका कारण चितुवा मृत भेटिएको र धामीलाई मरेको चितुवामाथि आसन गराई स्थानीयले भेटीसहित फूलमालाले पूजाआजा गरेर बाजागाजासाथ मन्दिर लगिएको थियो। त्यहाँ आइतबार साँझसम्म पनि मेला लागिरहेको छ। तर डिभिजन वन कार्यालयले भने देउताका कारण नभई पासोमा परेर चितुवा मरेको हुनसक्ने अनुमान गरेको छ। कार्यालयले आइतबार बिहानै मृत चितुवा लिन कर्मचारी खटाए पनि नियन्त्रणमा लिन सकेको छैन। इलाका वन कार्यालय अजयमेरुका प्रमुख सन्तोषराज भट्टका अनुसार चितुवाको घाँटीमा पासोको जस्तो डाम रहेको छ। गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *