दार्चुला । नेकपा (एमाले) ले दार्चुलाको विकासको लागि नौँ बुदे अपिल जारी गरेको छ। कालापानीमा नेपालको स्वाभिमान कायम गर्नेदेखि तिंकरसम्म तीन वर्षभित्र सडक पुगाउने गरी अपिल जारी गरेको हो।
दार्चुलाको विकासको लागि एमालेको विकल्प नभएको भन्दै विकासको लागि मतदान गर्न अपिल जारी गरेको छ। एमाले पोलिटव्युरो सदस्य एवम् प्रतिनिधिसभा सदस्यका उम्मेदवार गणेशसिंह ठगुन्ना, प्रदेशसभा १ का उम्मेदवार हरदेव जोशी, २ का उम्मेदवार रामदत्त जोशी, समानुपातिक उम्मेदवार दीपा बुढाथोकीद्धारा जारी अपिलमा सुशासनसहितको समावेशीता र विकास निर्माणको लागि एमालेको विकल्प नभएको उल्लेख छ।
एमालेको सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको ४ सय बर्ग किलोमिटर भूमि नक्सामा सामेल गरेको भन्दै भूमिमा स्वामित्व लिन पनि मतदान गर्न भनिएको छ। सामरिक महत्वको दार्चुला–तिंकर सडक निर्माणको जिम्मा नेपाली सेनालाई दिइएको र आगामी तीन वर्षभित्र नाकासम्म सडक पु-याउने प्रतिवद्धता व्यक्त गरिएको छ।
महाकाली करिडोरमा ३ अर्व ३० करोड रुपैयाँको लागतमा सडकको बहुवर्षीय ठेब्का कालोपत्रेको काम अघि बढेको भन्दै यो पूरा गरिने अपिलमा उल्लेख छ। खलंगा–खार–देथला सडक र पारिबगर–खण्डेश्वरी सडक रणनीतिक सडकमा सामेल भई कालोपत्रेको काम अघि बढेको भन्दै यो पनि पूरा गरिने जनाइएको छ। दु्रतगतीमा निर्माण भइरहेका ग्रामीण सडकहरुको निर्माण पूरा गर्न र नयाँ ग्रामीण सडक सञ्चालन गर्ने भनिएको छ।
दार्चुलाको एकमात्र गोकुलेश्वर विमानस्थल निर्माणको लागि ५२ करोड रुपैयाँ लागतमा बहुवर्षीय ठेक्का निर्माणको काम अघि बढेको छ। ९६ करोड लागतमा जिल्लाभरी विद्युतीकरण आयोजना सुरु भएको छ। आगामी दुई वर्षभित्र अधिकांश घरधुरीमा विद्युत पु(याउने एमालेले जनाएको छ।
सुख्खाग्रस्त क्षेत्र लेकमको कुणी–कुसकाडामा निर्माण सुरु गरिएको २५ करोड लागतको चमेलिया लिफ्टिङ खानेपानी योजना निर्माण गरेर एक घर एक धारा को लक्ष्य पूरा गरिने एमालेले जनाएको छ। जिल्लामा निर्माण भइरहेको ५० सैयाको अस्पताल पूरा गर्नुको साथै रिठाचौपाता, लटिनाथ, खण्डेश्वरी, जामिर, हुती, धारीमा निर्माण भइरहेको अस्पतालको काम सम्पन्न गर्ने एमालेले अपिलमा उल्लेख गरेको छ।
दार्चुलाका आंगिक हुन बाँकी रहेका शंकरपुर, लटिनाथ, लाली, हुती र दत्तु क्याम्पसलाई आंगिक क्याम्पस बनाइने अपिलमा भनिएको छ।