काठमाडौं। चार दशकसम्म कमल थापाको राजनीतिक सहयोगी थिए, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता दीपक सिंह। तर २०७८ फागुनबाट सिंह र कमल थापाको बाटो अलग बन्न पुग्यो। राप्रपा अध्यक्षमा पराजित भएपछि थापा राप्रपा नेपाल ब्युँताउन लागे भने सिंह आफ्नै बाटोमा हिँडिरहे। पहिला एकअर्काका सहयोगी थापा र सिंह अहिले मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएका छन्।
थापा र सिंह मात्र होइन, नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना पनि यसै क्षेत्रबाट चुनावी प्रतिस्पर्धामा छिन्। राप्रपा नेपालका अध्यक्ष थापा एमालेको चुनाव चिह्न ‘सूर्य’ लिएर उम्मेदवार बनेका छन्। यसैकारण उनलाई एमालेको साथ छ। कांग्रेसबाट उम्मेदवार बनेकी सहमहामन्त्री उपाध्यायलाई सत्ता गठबन्धन दलको साथ छ। सिंह राप्रपाबाट उम्मेदवार बनेका हुन्।
सत्ता राजनीतिमा चतुर थापाले एमालेले रामेश्वर रानालाई दिइसकेको टिकट फिर्ता गराएर उम्मेदवारी दिएका हुन्। यिनै थापा २०७४ सालको चुनावमा कांग्रेसका इन्द्रबहादुर बानियाँलाई प्रदेशसभा सदस्यको उम्मेदवार बनाउन लगाएर कांग्रेसकै समर्थनमा चुनाव लडेका थिए। २०४८ सालदेखि २०७० बाहेकका सबै निर्वाचनमा थापाले प्रतिस्पर्धा गरेका छन्। २०४८ सालमा मकवानपुर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका उनी २०७० मा समानुपातिक कोटाबाट संविधानसभा सदस्य बनेका थिए।
कांग्रेसकी उपाध्याय २०७४ सालमा प्रत्यक्षबाट चुनाव लडिन्। तर उनी वाम गठबन्धनबाट उम्मेदवार बनेका एमालेका विरोध खतिवडासँग पराजित भइन्। २०६४ र २०७० सालमा समानुपातिक कोटामा संविधानसभा सदस्य बनेकी उनी २०५१ र २०५६ सालका निर्वाचनमा भने उम्मेदवार बनिनन्।
निर्वाचन प्रतिस्पर्धामा उत्रिए पनि राप्रपाका सिंह अहिलेसम्म जनअनुमोदित हुन सकेका छैनन्। २०५४ सालमा पहिलोपटक हेटौंडाको मेयरका लागि उम्मेदवार बनेका सिंह एमालेका डोरमणि पौडेलसँग पराजित भए। उनी २०५६ सालमा एमालेका खतिवडा र २०७० सालमा एमालेकै अनन्तप्रसाद पौडेलसँग पराजित भए। गत वैशाख ३० गते भएको स्थानीय चुनावमा हेटौंडा उपमहानगरपालिकाको प्रमुखमा पराजित सिंह अहिले प्रतिनिधिसभा सदस्यका लागि चुनावी मैदानमा छन्। प्रतिनिधिसभा सदस्यका लागि मंसिर ४ गते हुने निर्वाचनमा यिनै तीन नेताबीच प्रतिस्पर्धा हुने आकलन गरिएको छ।
सूर्य चिह्न लिएर चुनावमा उठेका थापालाई यसपटक पनि हारबाट जोगिन त्यति सहज भने देखिँदैन। थापाका ‘खास मान्छे’का रूपमा चिनिएका सिंहले उनको साथ छोड्दै राजेन्द्र लिङ्देन नेतृत्वको राप्रपाबाट प्रतिस्पर्धा गर्दैछन्। थापाकै मान्छे भएर वर्षौं काम गरेका मधु अधिकारी नेकपा एकीकृत समाजवादी (नेकपा एस) तर्फ र खिलप्रसाद चौलागाईं एमालेतर्फ लागेका छन्। पार्टीको आन्तरिक निर्वाचनमा हार्नेबित्तिकै पूर्वराजा र दरबारलाई दोष देखाउँदै थापाले राप्रपा नेपाल ब्युँताएका थिए। यो कदमबाट थापाका आफ्ना भनिएका मानिस पनि असन्तुष्ट छन्। सूर्य चिह्नमा उम्मेदवार बनेका थापालाई एमालेका नेताकार्यकर्ता रिझाउनुपर्ने र राप्रपा नेपालका नेताकार्यकर्तालाई सूर्य चिह्नमा मतदान गर्न फकाउनुपर्ने अवस्था आइलागेको छ।
गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचन परिणाम हेर्दा एमालेको समर्थनमा उम्मेदवार बनेका थापालाई चुनाव जित्न मुस्किल पर्ने देखिन्छ। स्थानीय तह निर्वाचनमा जिल्लाको कुनै पनि स्थानमा उम्मेदवार नउठाएर राप्रपा नेपालले एमालेलाई सहयोग गरेको थियो। थापाले स्थानीय चुनावमा एमालेलाई सहयोग गर्ने आश्वासन दिए पनि उनको पार्टीका कार्यकर्ताले राप्रपाका उम्मेदवारलाई मत दिएको आरोप त्यतिबेलै लागेको थियो।