काठमाडौं। स्वरोजगार सृजना गर्न लगेको कर्जा फिर्ता नगरेपछि सरकारले साढे पाँच दर्जन सहकारीलाई कारबाही प्रक्रिया अघि बढाएको छ। युवा तथा साना व्यवसायी स्वरोजगार कोषबाट लगेको करिब पौने १८ करोड रूपैयाँ नतिर्ने ६६ सहकारीलाई कारबाही सुरु गरेको हो।
कर्जाको रकम नतिर्ने ३७ जिल्लाका ६६ सहकारीलाई कारबाही गर्न थालेको युवा तथा साना व्यवसायी स्वरोजगार कोषका कार्यकारी निर्देशक विश्वमोहन अधिकारीले बताए। ‘पहिलो चरणमा कर्जाको रकम नतिर्ने सहकारीको नाम सार्वजनिक गरेका छौं,’ अधिकारीले भने, ‘सहकारीका सञ्चालकलाई कालोसूचीसम्म राख्छौं।’ सहकारीको सञ्चालक समिति, लेखा समिति, कर्जा उपसमितिको तीन पुस्ते पनि निकाल्ने अधिकारीले बताए।
भाखा नाघेको कर्जा नतिर्नेलाई अचल सम्पत्ति रोक्का गर्ने, सरकारी सेवासुविधाबाट वञ्चित गर्ने, कालोसूचीमा राख्ने र पासपोर्ट रोक्का गर्ने लगायत कारबाही गर्ने अधिकारीले बताए। कर्जा नतिर्ने सहकारीका पदाधिकारी, सदस्य तथा कर्जाग्राहीको नाम कर्जा सूचना केन्द्रमा राखी त्यस्ता संस्था तथा व्यक्तिलाई कारबाही गर्ने र बैंक खाता रोक्का गर्ने काम पनि कोषले गरेको छ। हरेक जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको कर्जा असुली समितिमार्फत कडाइ गरेको छ।
पटकपटक ताकेता गर्दा पनि रकम नतिरेपछि कोषले कारबाही प्रक्रिया अघि बढाएको हो। पहिलो चरणमा सहकारीको जग्गा रोक्का राखिएको कोषको असुली शाखाप्रमुख लोकबहादुर खड्काले बताए। ‘चरणबद्ध रूपमा कारबाहीका प्रक्रिया अघि बढाउँछौं,’ खड्काले भने।
जडिबुटी सहकारी, मजदुर सहिद स्मृति सहकारी काठमाडौं लगायत सहकारीले १ करोडमाथि कर्जा तिरेका छैनन्। २०६९ सालमा लगेको रकम नतिरेकाले कोषले कारबाही प्रक्रिया अघि बढाएको हो। मुलुकमा बेरोजगारी दर बढिरहेका बेला सरकारले स्वरोजगार सृजना गर्न लगेको रकम आफूखुसी लगानी गरेर दुरूपयोग गरेपछि रकम फिर्ता गर्न नसकेका हुन्। कोषले लगानी गरेको रकम दुरूपयोग हुन नदिन कडाइ गरेको हो। कोषले सहकारी र २७ वाणिज्य बैंकमार्फत लगानी गरेको छ। कोषले अहिलेसम्म १२ अर्ब १० करोड रूपैयाँ कर्जा लगानी गरेको छ। कोषले अहिलेसम्म ९२ हजार ७ सय ९१ स्वरोजगार सृजना गरेको छ।
उद्यमशीलता गर्न चाहेर पनि पुँजी अभावले बेरोजगार बनेका युवालाई रोजगार बनाउन न्यून ब्याजदरमा रकम दिँदै आएको छ। कोषले ३.२ प्रतिशत ब्याजमा सहकारी तथा बैंकलाई कर्जा दिन्छ। स्वरोजगार बन्न चाहानेलाई बिनाधितो ऋण लगानी गर्ने कार्यकारी निर्देशन अधिकारीले बताए। ‘पुँजी नभएर उद्यम गर्न नपाएकालाई सहुलियत दरमा कर्जा दिन्छौं,’ उनले भने, ‘स्वरोजगार सृजना गर्न टेवा पुगेको छ।’