आचारसंहिता पालना गराउन निर्वाचन आयोगको निगरानी

काठमाडौं । निर्वाचनको मिति नजिएसँगै निर्वाचन आयोगले निर्वाचन आचारसंहिताको सूक्ष्म अनुगमन गर्न थालेको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्वाचन आचारसंहितालाई कडाइका साथ पालना गराउन विभिन्न संयन्त्रमार्फत निगरानी गर्न थालिएको बताए ।

उनले राजनीतिक दल र उम्मेदवारहरूले निर्वाचन प्रचारप्रसार गर्ने क्रममा आचारसंहिता उल्लंघन गरेको विषयमा आयोगमा उजुरी परिरहेको जानकारी दिँदै यस किसिमका अन्य घटनाहरू हुन नदिन र भएकालाई कारबाही गर्न पनि निगरानीको व्यवस्था मिलाइएको बताए ।

उनका अनुसार निर्वाचन आचारसंहिता उल्लंघन गरेका हालसम्म ७१ वटा घटनाहरूको विषयमा आवश्यकताअनुसार आयोगले जाँच गर्ने, तथ्य जुटाउने काम गरिरहेको छ । घटनाको प्रकृति अनुसार स्पष्टीकरण सोध्ने, सचेत गराउने, जरिवाना गर्ने र उम्मेदवारी खारेज गर्ने हदसम्म पनि जान सकिने आयोगले जनाएको छ । प्राप्त स्पष्टीकरणउपर छानबिन र जाँझबुझ गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइएको पनि आयोगले जनाएको छ ।

उम्मेदवार तथा राजनीतिक दलले आचारसंहिताको पालना र तोकेको सीमाभित्र रही खर्च गरे नगरेको निगरानी गर्न गृह मन्त्रालयमार्फत नेपाल प्रहरी तथा राष्ट्रिय अनुसन्धान विभागलाई जिम्मेवारी दिइएको छ । सोहीअनुरूप निगरानी गर्ने काम शुरू गरिएको जानकारी दिँदै आयोगले भनेको छ– ‘ती निकायलाई निर्वाचन आचारसंहिता, २०७९ को दफा ४२ बमोजिम आयोगमा विवरण उपलब्ध गराउने जिम्मेवारी दिइएको छ ।’

आयोगका अनुसार निर्वाचन आचारसंहिता, २०७९ ले नेपाल सरकार, प्रदेश सरकार तथा नेपाल सरकार वा प्रदेश सरकारका मन्त्रीले आयोगको सहमतिमा निर्वाचन प्रचारप्रसारमा संलग्न हुँदा सरकारी साधनको प्रयोग भए नभएको विषयमा आवश्यक निगरानीको व्यवस्था मिलाइएको छ ।निर्वाचन प्रचारप्रसारको क्रममा हुने खर्चलाई नियन्त्रण गर्न पनि आयोगले आचारसंहितामा विभिन्न प्रावधान राखेको र त्यसको कार्यान्वयनमा कडाई गरिएको आजको नेपाल समाचारपत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *