सहयात्रा तोड्दै एउटै गाउँका तीन नेता चुनावी प्रतिस्पर्धामा

काठमाडौं । राजधानी काठमाडौंसँगै जोडिएको धादिङ १ मा मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा झन्डै चार दशकसम्म एउटै पार्टी र चिह्नमा सहकार्य गरेका दुई नेतासहित एउटै गाउँका तीन नेता चुनावी प्रतिस्पर्धामा छन्।

२०७४ सालको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा सँगसँगै हात जोड्दै एकअर्कालाई भोट माग्दै हिँडेका राजेन्द्रप्रसाद पाण्डे र भूमि त्रिपाठी पाँच वर्षपछि अलगअलग दलसहित एकअर्काविरुद्ध आमनेसामने भएका हुन्।

२०७४ सालको निर्वाचनमा एमालेबाट प्रदेशसभा सदस्यको उम्मेदवार हुँदै मुख्यमन्त्रीको जिम्मेवारीमा रहेका पाण्डे सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेका छन्। पाण्डे एमालेबाट अलग भएर गठन भएको नेकपा एकीकृत समाजवादी ९नेकपा एस० का उपाध्यक्ष छन्। त्रिपाठी एमालेबाट विपक्षी गठबन्धनको नेतृत्व गर्दै प्रतिस्पर्धामा उत्रिएका छन्।

कम्युनिस्ट राजनीतिक पृष्ठभूमिबाट अघि बढेका पाण्डे र त्रिपाठी मात्र होइन, चार दशक वामपन्थी राजनीति गरेका वातावरण संरक्षण अभियन्ता उत्तम कँडेल पनि प्रतिस्पर्धामा थपिएका छन्। एकै गाउँठाउँका उनीहरूले लामो समय एउटै पार्टीमा रहेर काम मात्र गरेनन्, विभिन्न जिम्मेवारी पनि निर्वाह गरे। तर अहिले उनीहरूबीचको सहकार्य टुटेको मात्र छैन, तीनैजना एकअर्काविरुद्ध खडा भएका छन्।

२०५४ सालको स्थानीय निकाय निर्वाचनपछि एमालेबाट जिल्ला विकास समितिको उपसभापति भएका कँडेल २०५७ सालमा पार्टी परित्याग गरी माओवादीमा प्रवेश गरेका थिए। केही समय भूमिगत बसेका कँडेल माओवादी शान्ति प्रक्रियामा आएपछि गठन भएको बाबुराम भट्टराई नेतृत्वको सरकारका पालामा कृषि सामग्री कम्पनी लिमिटेडको अध्यक्ष भएका थिए।

राजनीतिशास्त्रमा स्नातकोत्तर पाण्डे २०३० को दशकदेखि राजनीतिमा सक्रिय छन्। शिक्षण पेसाबाट राजनीतिमा प्रवेश गरेका पाण्डे पञ्चायती व्यवस्थामा जिल्ला पञ्चायतको सभापति पनि भएका थिए। उनी २०४६ सालको राजनीतिक परिवर्तनपछि २०६४ मा भएको संविधानसभा निर्वाचनबाहेक सधंै जनअनुमोदित हुँदै आएका छन्। २०७४ सालको निर्वाचनमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिसभा सदस्यको उम्मेदवार नबनाउने भएपछि पाण्डे प्रदेशसभा सदस्यमा झरेका थिए। त्यसबेला एमालेले प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएका त्रिपाठी पार्टीको मजबुत संगठन र वाम गठबन्धनको बलमा निर्वाचित भएका थिए।

पेसाले अधिवक्ता रहेका त्रिपाठी २०६४ सालपछि सक्रिय राजनीतिमा देखिए पनि गैरसरकारी संस्थाहरूमा पनि सक्रिय थिए। उनीहरूसँगै धादिङ १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीबाट हिमेश पन्तले पनि उम्मेदवारी दिएका छन्। यसकारण पनि धादिङ १ को निर्वाचन निकै रोचक बन्दै गएको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *