गंगाले प्रतिस्पर्धीको भोट तानेर परिणालाई प्रभाव पार्न सक्ने

काठमाडौं, कात्तिक १९ । थारू समुदायको बाहुल्य रहेको दाङ १ मा मुख्य प्रतिस्पर्धी उम्मेदवार सोही समुदायकै छन्। सो क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका १२ उम्मेदवारमध्ये पाँचजना थारू समुदायका छन्।

मंसिर ४ मा हुने चुनावका लागि मुख्य प्रतिस्पर्धीका रूपमा चर्चामा रहेका दुईजना हुन्, सत्तापक्षीय गठबन्धनका तर्फबाट उठेका नेकपा एकीकृत समाजवादी (नेकपा एस) का मेटमणि चौधरी र नेकपा एमालेकी शान्ता चौधरी। एमाले विभाजित हुनुअघि उनीहरू दुवै सोही पार्टीमा आबद्ध थिए।

२०७४ सालको निर्वाचनमा मेटमणि एमालेबाट सोही क्षेत्रमा उम्मेदवार थिए। त्यतिबेला उनलाई जिताउन शान्ता पनि लागिपरेकी थिइन्। तिनै शान्ता अहिले मेटमणिकी प्रतिस्पर्धी हुन्। ती दुई पूर्वसहकर्मी मात्रै नभएर त्यस्तै अर्की एक उम्मेदवार गंगा चौधरी (सत्गौवा) पनि चुनावी मैदानमा छिन्।

शान्ता, मेटमणि, गंगा तीनैजना थारू समुदायको आन्दोलनका सहकर्मीसमेत थिए। एमाले फुट्दा मेटमणि नेकपा एसतिर लागे। शान्ता एमालेमै रहिन्। गंगाले हाम्रो नेपाली पार्टीबाट उम्मेदवारी दिइन्।

विगतमा एमालेले पाएको मतमध्ये तीनजनालाई बाँडिने आकलन गरिन्छ। गंगा बलियो प्रतिस्पर्धी नभए पनि उनले दुई मुख्य प्रतिस्पर्धीको भोट तानेर परिणालाई प्रभाव पार्न सक्ने विश्लेषण हुने गरेको छ। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *