तुलसीको विवाह गरि आज हरिबोधनी एकादशी मनाइदै

काठमाडौं। आज ठूलो एकादशी अर्थात् हरिबोधनी एकादशी । कार्तिक शुक्ल एकादशीका दिनमा भगवान् विष्णुको प्रतीकका रुपमा तुलसीको विवाह र विशेष पूजा गरी हरिबोधिनी एकादशी पर्व मनाइँदैछ ।

असार शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका भगवान विष्णु आज ब्यूँतिने विश्वासमा यो एकादशीलाई हरिबोधिनी वा प्रबोधिनी एकादशी भनिन्छ । हरिशयनीदेखि हरिबोधिनी एकादशीका दिनसम्म चार महिना विष्णुभक्तहरुले तुलसीको व्रत गरी पूजा गर्दछन् ।

हरिशयनी एकादशीका दिन घर घर रहेका मठमा रोपेर विशेष पूजा गरिएको तुलसीको मठमा यस दिन गाईको गोबर र रातो माटोले पोती सिङ्गारेर फूल मालाले सजाएर तुलसी बिवाह गर्ने परम्परा पनि छ । तुलसी वैज्ञानिक रूपमा पनि अत्यन्त लाभदायक बनस्पती मानिन्छ । तुलसीको सुगन्धले दश दिशा पवित्र हुने मानिन्छ ।

तुलसीको पात, डाँठ वा फूलको रस रुघाखोकी र औलोलगायत रोगका लागि औषधि हुन्छ । शरद ऋतुभर सबै प्राणीका लागि तुलसीलाई महाऔषधि मानिन्छ । अन्न खान नहुने मान्यताका कारण यस दिन सखरखन्ड, पिँडालु र वन तरुल उसिनेर फलाहार खाने गरिन्छ ।

आजको दिन काठमाडौंको बुढानीलकण्ठका साथै उपत्यकाका चाँगुनारायण, शेषनारायण, इचँगुनारायण र विशंखुनारायणलगायत देशभरका विष्णु मन्दिरहरुमा विशेष मेला लाग्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *