मुलुकको निर्यात व्यापार निराशाजनक

काठमाडौं।  सरकारले व्यापार घाटा कम गर्न र निर्यातमा प्रोत्साहन गर्न अनुदान दिने नीति लिए पनि मुलुकको निर्यात व्यापार निराशाजनक देखिएको छ।

चालु आर्थिक वर्ष ०७९-८० को पहिलो तीन महिनामा (असोजसम्म) को निर्यात ३५.७१ प्रतिशतले घटेको छ। पोहोर सोही अवधिमा निर्यात १०९ प्रतिशतले वृद्धि भएको थियो। हरेक वर्ष निर्यात बढ्दै आएकोमा चालु आवको तीन महिनामा निर्यात करिब २४ अर्ब रूपैयाँले घटेको छ।

हरेक वर्ष निर्यात बढ्दै गएकोमा यो वर्षको पहिलो तीन महिनामा गिरावट आएको छ। गत वर्ष पहिलो तीन महिना करिब ६५ अर्ब ५ करोड रूपैयाँको निर्यात भएकोमा यो वर्ष घटेर ४१ अर्ब ८२ करोड रूपैयाँको मात्र निर्यात भएको भन्सार विभागले जनाएको छ।

निर्यात घटेकोमा अर्थक्षेत्रका जानकारले चिन्ता व्यक्त गरेका छन्। कुल वैदेशिक व्यापारमा नेपालको निर्यात व्यापारको हिस्सा करिब १० प्रतिशत रहेको छ। न्यून हिस्सा रहेको अवस्थामा निर्यात घट्दै जानु अर्थतन्त्रका लागि चिन्ताको विषय हो ।

रसिया–युक्रेन युद्धले गर्दा विश्व अर्थतन्त्रमा देखिएको समस्याको कारण सामानको माग नआएको नेपाल उद्योग वाणिज्य महासंघ निर्यात समितिका सह–सभापति नरेशलाल श्रेष्ठले बताए।

नेपालबाट प्रमुख निर्यात हुने वस्तुमा भटमासको तेल, धागो, अलैंची, उनी गलैंचा कार्पेट, जुटबाट बुनिएका कपडा, चिया, फलफूल जुस लगायतका वस्तुहरू रहेका छन्। नेपालबाट सबैभन्दा धेरै भटमासको प्रशोधित तेल निर्यात हुने गरेको छ।नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *