बस्नेत र तामाङको मुख्य चुनावी अजेन्डा विपद् व्यवस्थापन

सिन्धुपाल्चोक । भूकम्प र बाढी–पहिरोबाट थिलथिलिएका सिन्धुपाल्चोकका मतदातालाई आफूतिर आकर्षित गर्न यहाँका प्रमुख दलका उम्मेदवारहरूले विपद् व्यवस्थापन र नियन्त्रणलाई पहिलो अजेन्डा बनाएका छन्।

चाहे नेताहरूको भाषणमा होस् वा प्रतिबद्धतापत्र, दलहरूले बाढीपहिरो तथा भूकम्पपीडित जनताको उद्धार, प्रकोप नियन्त्रण तथा बाढी पहिरोले पु¥याएकोे क्षतिको पुनर्निर्माण गर्ने कबोल गरेका हुन्छन्। यही मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा मतदाताको चासो पनि विपद् व्यवस्थापनमै छ।

प्राकृतिक रूपले सुन्दर सिन्धुपाल्चोक विपद्सँग जुध्दै आइरहेको छ। हरेक वर्ष यस जिल्लामा प्राकृतिक विपत्ति निम्तिने गरेको तथ्यांकले देखाएको छ। विगत केही वर्षयता सिन्धुपाल्चोकमा बर्सेनि विपद्का घटना निम्तिरहेका छन्। जसका कारण ठूलो जनधनको क्षति बेहोर्नुपरेको छ।

खासगरी बाढीपहिरो, भूकम्प, आगालागी, चट्याङ, हावाहुरी, करेन्ट लागेर लगायत विपद् जिल्लावासीले हरेक वर्ष भोग्दै आइरहेका छन्। पछिल्ला ६ वर्षमा प्राकृतिक विपद्बाट मात्र सिन्धुपाल्चोकमा ३ हजार ८ सय ७१ जनाको मृत्यु भएको छ भने १ हजार ८ सय ७० जना घाइते भएका छन्। भूकम्पले अर्वौ रूपैयाँको क्षति भयो। जुरे पहिरो र भूकम्पबाहेक ५५ करोड ८२ लाख रूपैयाँ बराबर भौतिक क्षति भएको तथ्यांकले देखाउँछ।

प्रतिनिधिसभा निर्वाचनमा सिन्धुपाल्चोक २ मा उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार मोहन बस्नेत र नेकपा (एमाले) का उम्मेदवार शेरबहादुर तामाङ अहिले चुनावी मैदानमा आमने–सामने छन्। यसैगरी सिन्धुपाल्चोक १ मा माओवादीका माधव सापकोटा र एमालेका सरेश नेपाल प्रतिस्पर्धामा छन्।

घरदैलो, कार्यकर्ता भेटघाट, शुभकामना आदानप्रदान, चाहे कोणसभा होस्, सबै कार्यक्रममा उम्मेदवारहरूको प्रतिबद्धता र अजेन्डा विपद् व्यवस्थापनमै केन्द्रित हुने गरेको छ। यसैगरी ४ वटै प्रदेश सभामा उम्मेदवारी दिएका उम्मेदवारहरूले मतदाताको ध्यान आफूतिर आकर्षित गर्न प्रकोप व्यवस्थापन र पुनःनिर्माणलाई प्राथमिकता दिने गरेका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *