मासिक साढे २ लाखको चाउमिन बिक्रि

सिन्धुपाल्चोक । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पु¥याउछन् ।

बिहानभरी चाउमिन पु¥याएपछि उनको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार भएका उनले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिए । सानो पुँजीमा सुरु गरेको उनको चाउमिन बनाउने उद्योगमा अहिले दुई जना रोजगारीमा आबद्ध छन्।

कक्षा १० सम्मको अध्ययन पूरा गर्नुभएका २६ वर्षिय तामाङले कुनै समय भक्तपुर चाउमिन उद्योगमा सहयोगीका रुपमा दुई वर्ष र ‘मिस्त्री’का रुपमा ६ वर्ष काम गरे । त्यही उद्योगमा सिकेको सीपलाई परिवारको सल्लाहमा चाउमिन उद्योग सुरु गरेको उनको भनाइ छ ।

“धेरै समय बेरोजगार भएपछि बुबाआमासँग सल्लाह गरेँ, उनीहरु मेरो योजनामा सहमत भए”, तामाङले भने, “हाल बिबेक नुडल्समा उत्पादन भएको चाउमिनले बजारबाट राम्रो प्रतिक्रिया पाएको छ, यसले असाध्यै खुसी दिएको छ ।” कम्पनीबाट उत्पादन भएको चाउमिन इन्द्रावती गाउँपालिकाका १२ वटा वडा र मेलम्ची नगरपालिकासम्म पुग्ने उनको भनाइ छ ।

“हातमा सीप र जोखिम लिने क्षमता भयो भने सानो पुँजीमा पनि गाउँमै स्वरोजगार बन्न सकिन्छ”, तामाङले भने, “त्यसैले विदेश जानुलाई मात्रै विकल्प सोच्नु हुँदैन ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *