कांग्रेसको सङ्कल्प पत्र सार्वजनिक : कार्यान्वयन कति सम्भव ?

काठमाडौं । आगामी प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेपाली कांग्रेसले घोषणा–पत्रमार्फत् शनिबार पाँच वर्षीय एजेन्डा सार्वजनिक गरेको छ । जनतामाझ मत माग्न जाँदा लैजाने उक्त घोषणा–पत्रलाई कांग्रेसले सङ्कल्प पत्रका रूपमा सार्वजनिक गरेको हो ।

पार्टीका एजेन्डालाई समेटेर जनतामाझ पु¥याउन तयार पारेको संकल्प पत्रमा छिमेकी मुलुक भारत र चीनसँगको सीमा विवाद समाधानदेखि देशमै रोजगारी, निःशुल्क स्वास्थ्य, व्यावसायिक शिक्षा, देशको आर्थिक वृद्धि, सामाजिक न्याय, ज्येष्ठ नागरिक, युवा, महिला बालबालिकाको क्षेत्रलाई समेत जोड दिइएको छ ।

भारतसँगको कालापानी, लिपुलेक र लिम्पियाधुरा सीमा विवाद कूटनीतिक माध्यमबाट समाधान गरिने कांग्रेसले घोषणापत्रमा उल्लेख गरेको छ । त्यस्तै, चीनसँग पनि हुम्ला जिल्लामा सीमा विवाद देखिएको र त्यसलाई समाधान गर्नका लागि कूटनीतिक प्रयास गरिने घोषणापत्रमा लेखिएको छ ।

गत भारत भ्रमणको अवसरमा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतसँगको सीमा समस्याको बारेमा नेपालको स्पष्ट धारणा र अडान भारत सरकारसँग राखेको कुरालाई समेत पार्टीले संकल्प पत्रमा उल्लेख गरेको छ । चीनसँग हुम्लामा सीमा विवाद रहेको भन्दै आएको कांग्रेसले यसबारे घोषणापत्रमै उल्लेख गर्दै विवाद कूटनीतिक प्रयासबाट समाधान गरिने जनाएको हो ।

त्यस्तै आफ्नो नेतृत्वमा सरकार गठन भएमा आगामी पाँच वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प कांग्रेसले गरेको छ । घोषणापत्रमार्फत भनेको छ– ‘व्यापक रोजगारीका सम्भावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जनलगायतका अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गर्दछ । वार्षिक २ लाख ५० हजारका दरले ५ वर्षमा १२ लाख ५० हजार रोजगारी सिर्जना गर्ने संकल्प कांग्रेसले गरेको हो ।’ नेपाल समाचारपत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *