रमेश दुलालले गरे रत्नपार्कमा काग सम्मेलन (फोटोफिचर)

काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म मनाइने हिन्दूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको पहिलो काग तिहारको दिन आज काग सम्मेलन गरिएको छ ।

विगत १८ वर्षदेखि काग तिहारका अवसरमा राजधानीको रत्नपार्कस्थित शान्तिबाटिकामा काग सम्मेलन आयोजना गर्दै आएका कलाकार रमेश दुलालले आजपनि कागको स्वर निकालेर कागलाई एकै ठाउँमा जम्मा पारेका थिए ।

दुलालले कागको स्वर निकालेर बोलाएपछि कागहरु उनको आवाज भएको ठाउँसम्म आइपुगेका थिए ।
१७३ जीव जनावर तथा चराचुरुङ्गीको आवाज निकाल्ने इलामका रमेश दुलाल ‘कागे’ ले कागको स्वर निकालेर कागलाई एकै ठाउँमा भेला पारेका हुन् ।

उनले संविधान नबन्दा काग बोलाएर नयाँ बानेश्वरस्थित संसद् भवन र अन्तर्राष्ट्रिय विमानस्थल घेराउ गराएका थिए । त्यस्तै उनले भारतले नेपालमा नाकाबन्दी गर्दा मैले भारतीय राजदूतावासको ढोका अगाडि काग बोलाएर विरोध गरेको बताए ।

दुलालले कागबाहेक मुखैले मादल, सनाइ, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा, गितारको धुनसमेत निकाल्छन् । यमपञ्चकको पहिलो दिन कार्तिक कृष्ण त्रयोदशीमा काग तिहार मनाइन्छ ।

काग तिहारको दिनमा यमराजको सन्देश वाहकको रुपमा कागलाई सम्मानको साथ पूजाआजा गरेर खानेकुरा दिने चलन रहेको छ । काग तिहारमा कागलाई मीठा मीठा खानेकुरा दिएमा राम्रो समाचार लगिदिने विश्वास गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *