भोटका लागि शीर्ष नेताहरूबीच आरोप–प्रत्यारोप

काठमाडौं । निर्वाचनको दौडाहामा रहेका प्रमुख दलहरूको शनिबार एकैसाथ ललितपुर र विराटनगरबाट दुई फरक स्वर सुनिए। फरक स्वर भए पनि दुवैमा धेरै समानता र अन्तरसम्बन्धित विषय पनि थिए। दुवै एकअर्काप्रति लक्षित थिए। दुवैमा आक्रोश, कुण्ठा, वैमनश्य र आपेक्ष थिए। सरल भाषामा भन्दा दुवैमा एकअर्काप्रति भरमार आलोचना थिए।

ललितपुरमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली बोल्दै थिए भने विराटनगरमा प्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बोल्दै थिए।

दुवै कार्यक्रममा कुरा सुन्दा कुनै चुनावी सभाभन्दा बढी झगडियाहरूको इजलास चलिरहेको भान हुन्थ्यो। जसमा एकअर्का पक्षलाई तल्लो स्तरमा ओर्लिएर गाली गर्ने काम चलिरहेको थियो।

एमाले अध्यक्ष ओली ललितपुरमा भाषण गर्दै सत्ता गठबन्धनले ‘अंशअंश’मा देश बेचिरहेको आरोप लगाए। ‘सत्ता स्वार्थका लागि यिनीहरू देश पनि बेच्न तयार हुन्छन्। सिंगै देश ढ्वाक्कै लगेर भन्टा, टमाटर, सिमी बेचेजस्तो तराजुमा लगेर बेच्न नसक्लान् तर, अंश अंश गरेर देश बेच्छन्,’ उनले भने, ‘अलिकति हिस्सा बेच्छन्, अलिकति अंश बेच्छन्, अलिकति हित बेच्छन्, अलिकति तल पार्छन्। स्वाधीनता बेच्छन्, स्वाभिमान बेच्छन्। सार्वभौमसत्ता बेच्छन्। अंश अंश गरेर बेच्छन्।’

ओलीले यसरी ललितपुरमा भाषण गरिरहँदा उता विराटनगरमा माओवादी केन्द्रका अध्यक्ष दाहालले एमालेलाई ‘मधेसविरोधी’ र ओलीलाई प्रतिगमनकारी भनेर चित्रण गर्दै थिए। उनले भने, ‘प्रतिगमनकारी शक्तिहरू बलिया हुँदा परिवर्तन र मुलुक दुवै खतरामा पर्छ। गठबन्धनले ट्र्याकमा ल्याएको देश फेरि भड्खालोमा हाल्ने कोसिस हुँदै छ।’

दाहालको जस्तै आक्रोश नेकपा एसका अध्यक्ष नेपालको पनि थियो। उनले ओली मुलुकका लागि खतरनाक पात्र भएकाले उनलाई परास्त नगरेसम्म देश उँभो नलाग्ने दाबी गरे। ‘नेपालमा कुनै मधेसविरोधी पार्टी छ भने त्यो एमाले मात्रै हो। केपी ओली एक नम्बर खतरनाक मान्छे हो। नागरिकता विधेयक ओली र राष्ट्रपति मिलेर रोकेका हुन्,’ नेपालले भने।

दाहाल र नेपालको भाषामा प्रधानमन्त्री देउवाले पनि होस्टेमा हैसे मिलाउँदै आफ्नो मन्तव्य दिएका थिए। एमाले जित्दा संविधान तथा लोकतान्त्रिक गणतन्त्र असुरक्षित हुने भएकाले गठबन्धनलाई जिताउनुपर्ने देउवाको भनाइ थियो। शीर्ष नेताहरूको यस्तो गालीको सिलसिला शनिबारको मात्रै होइन, यस्ता गाली दिनहुँ चलिरहेकै हुन्छन्। यस पटकको चुनावमा यो गति झन् बढेको छ। दिनहुँ हुने चुनावी सभामा शीर्ष नेताहरू यसैगरी एकअर्काविरुद्ध तथानामको स्थितिमा उत्रिरहेका छन्। नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *