काठमाडौं । गत स्थानीय तह निर्वाचनमा प्रधानमन्त्री पत्नी आरजु राणा देउवाले सुदूरपश्चिममा मतदातासँग पुगेर दुई वटा काम गरिन् । एउटा पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने धम्की दिइन् भने अर्को कांग्रेसलाई जिताए फ्रि टिकट, फ्रि भिसामा युवालाई विदेश पठाइदिने आश्वासन । वैशाख २३ गते कैलालीको धनगढीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै राणाले फ्रि भिसा र फ्रि टिकटमा मलेसिया पठाइदिने आश्वासन दिँदै भोट मागिन् ।
उनले भनिन्,‘कसैले मलाई फ्रि भिसा फ्रि टिकटको कोटा दिन्छु भनेको छ । यहाँबाट काठमाडौं जान पैसा पर्दैन । सबै जनालाई लान सक्दैनौं । किनभने मापदण्ड हुन्छ । यो वडाबाट ५/६ जनालाई पठाउने प्रयास गर्छौं । पहिला इलेक्सन सिध्याऔं ।’ तर चुनावपछि कुनै त्यस्तो युवा भेटिएको छैन जो म निःशुल्क टिकट र भिसामा विदेश गएँ भनेर । त्यसैगरी आरजुले डडेल्धुरा पुगेर पार्टीले नजितेका स्थानीय तहमा पैसा नपठाउने धम्की दिइन् । उनले मेयर नजित्ने नगरपालिकामा बजेट नपठाइने धम्की दिएकी हुन् । डडेल्धुरामा नेपाली कांग्रेस र नेपाली कांग्रेस (बिपी) का उम्मेदवारबीच प्रतिस्पर्धा थियो । उनले भनेकी थिइन्, ‘जहाँ कांग्रेसको मेयर हुन्न त त्यहाँ हामी किन पैसा पठाउँछौं ? यो कुरा ध्यान दिएर करूवा सरूवा… पार्टीलाई भोट नहाल्नुस्।’ कांग्रेस बिपीको चुनाव चिन्ह करूवा थियो । कांग्रेसबाट विद्रोह गरेका कर्ण मल्ल पक्षले डडेल्धुरामा विभिन्न स्थानीय तहमा उम्मेदवारी दिएको थियो । अब चुनावपछि आरजुले बजेट रोकिन् रोकिनन् उनै जानुन । तर उनले सत्ताको व्यापक दुरुपयोग चाहिँ गरिन् । यो आरजुको पार्टीलाई भोट माग्ने तरिका थियो । अनि उनीसँग कतिले डराएर भोट हाले हालेनन् त्यो पनि उनै जानुन ।
यो आरजुको भोट माग्ने ‘रोग’ सत्ता गठबन्धनको अर्को घटक नेकपा एकीकृत समाजवादीमा सरेको छ । आगामी निर्वाचनमा भोट माग्न एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आरजुकै पदचाप पछ्याएका छन् । गत आइतबार रौतहटमा आयोजित चुनावी कार्यक्रममा अध्यक्ष नेपालले आरजुको जसैगरी आफूलाई भोट दिन आग्रह गर्दै युवालाई रोजगारी दिने आश्वासन मात्र दिएनन् फ्रि टिकट, फ्रि भिसा मिलाईदिने बताए । उनले भने, ‘फ्रि का मतलब बिना ढेउवा के । बिना ढेउवाको भिसा मिल्ते हे, टिकट मिल्ते हे, काठमाडौंमे तालिम मिल्ते हे ।’
हेर्नुस् भिडियो
जनता:- रोजगारीको योजना के छ?
गठबन्धन :- फ्रि भिसा फ्रि टिकटमा खाडी पठाइने छ!pic.twitter.com/0nZPViu1rx
— Bhim Oli (@Bhim0li) October 19, 2022
माधव नेपाल मात्र होइन उनकै पार्टीका नेता म्यानपावर व्यवसायी कृष्णकुमार श्रेष्ठले समेत फ्रि भिसा, फ्रि टिकटमा विदेश पठाउने आश्वासन दिएका छन् । बाराको परवानीपुरमा आयोजित कार्यक्रममा श्रेष्ठले युवाहरुलाई यस्तो आश्वासन दिएका हुन् । बारा क्षेत्र नं. ४ बाट उम्मेदवार बनेका श्रेष्ठले फ्रि भिसा फ्रि टिकटमा विदेश पठाइदिने आश्वासन दिएपछि आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । आयोगले बारा लगायतका जिल्लाबाट युवाहरूलाई जम्मा गरी प्रलोभन देखाउनुभएको सम्बन्धमा के कसो भएको हो ? भनी सोधेको छ ।
श्रम तथा रोजगार मन्त्रालयले २०७२ सालमा प्रमुख सात श्रम गन्तव्य मुलुकमा जाने नेपाली कामदारहरुको भिसा तथा टिकटको रकम रोजगारदाताले नै व्यहोर्ने व्यवस्था गर्नुपर्ने निर्णय गरेको थियो । त्यतिबेला अधिकतम् १० हजार रुपैयाँ सेवा शुल्क लिन पाइने व्यवस्था गरिएको थियो । तर अहिले पनि लाखौं नतिरी नेपाली युवा विदेश जान पाउँदैनन् । सरकारको त्यो निर्णय कार्यान्वयन भएको छैन । नेताहरुले त्यो निर्णय कार्यान्वयन पो गराउनु पथ्र्यो । तर चुनावमा भोट माग्न मात्र फ्रि भिसा, फ्रि भिसाको कुरा गर्ने र चुनाव सकिएपछि वेवास्ता गर्ने नेतृत्वको घैंटोमा घाम चाहिँ कहिले लाग्ने होला ?
यो पनि
