पोखरा । पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको पुरुष फुटबलतर्फ स्वर्ण पदकको लागि दुई विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लब र नेपाल एपीएफ क्लब भिड्ने भएका छन् । पोखरा रङ्गशालास्थित फुटबल मैदानमा मंगलबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा आयोजक गण्डकी प्रदेशलाई १–० गोलले निराश पार्दै आर्मी फाइनलमा पुगेको हो ।
आर्मी आठौँ संस्करणको राष्ट्रिय खेलकुदमा फुटबलको च्याम्पियनसमेत हो । पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएकामा दोस्रो हाफममा आर्मीले गरेको एक मात्र गोल निर्णायक बन्यो ।
वैकल्पिक खेलाडी सुदील राईले खेलको ५८औँ मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । खेलको २४औँ मिनेटमा कप्तान भरत खवासको स्थानमा मैदान प्रवेश गरेका राईले उत्कृष्ट गोल गरेपछि आर्मी स्वर्ण पदक नजिक पुगेको हो । आर्मीले खेलको सुरुआतदेखि गण्डकीलाई दबाबमा राखे पनि पाएको अवसरको उचित सदुपयोग गर्न सकेको थिएन । आर्मीका गोलका केही अवसर खेर गएका थिए ।
जारी प्रतियोगितामा आर्मी समूह ‘सी’ को विजेता बन्दै आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो । आर्मीले लिग चरणको पहिलो खेलमा लुम्बिनी प्रदेशलाई ४–१ ले र दोस्रो खेलमा पुलिस क्लबलाई २–० गोल अन्तरले हराएको हो । प्रतियोगिताको दोस्रो सेमिफाइनलका लागि सुदुरपश्चिम प्रदेश र समूह ‘बी’ विजेता एपिएफ क्लबका बीच खेल हुँदैछ ।
यस्तै आजै भएको दोस्रो सेमिफाइनल खेलमा सुदूरपश्चिम प्रदेशलाई ५-१ गोलले पराजीत गर्दै एपीएफले फाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो । एपीएफलाई जीत दिलाउन प्रदीप लामाले दुई गोल गर्दा नवीन लामा, विकु तामांङ र हरि कार्कीले एक-एक गोल गरे ।
पहिलो हाफ एपीएफलाई १-१ गोलको बराबरीमा रोकेपनि दोस्रो हाफमा समालिन नसक्दा सुदूरपश्चिम फराकिलो हार बेहोर्न पुग्यो ।
पुरुष फुटबल प्रतियोगितामा नवौँमा सहभागी ११ वटै टोलीले सहभागिता जनाएका थिए । पुरुष फुटबलको स्वर्ण पदकका लागि कात्तिक ३ गते फाइनल खेल हुनेछ ।