पोखरा । नवौ राष्ट्रिय खेलकुद अन्तर्गत भएको पुरुष फूटबलमा विभागीय टोली नेपाल एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गर्दा बागमती प्रदेश प्रतियोगिताबाट बाहिरिएको छ । सोमबार भएको खेलमा बागमती प्रदेशलाई ३-१ गोलले हराउँदै एपीएफले सेमिफाइनलमा आफ्नो स्थान सुरक्षीत गरेको हो ।
पोखरास्थित गोस्टेघाट खेल मैदानमा भएको खेलमा एपिएफलाई जीत दिलाउन नवीन लामाले दुई गोल गर्दा प्रदीप लामाले एक गोल गरे । बागमतीको लागि अभिषेक रिजालले एक गोल गरे । खेलमा लिएको शुरुवाती अग्रता जोगाउन नसक्दा बागमती हार बेहोर्न बाध्य भयो ।
जीतसँगै एपीएफ समूह ‘बी’को शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गर्दा बागमती प्रतियोगिताबाट बाहिरिएको छ ।
आजै भएको अर्को खेलमा लुम्बिनी प्रदेशलाई ४-१ गोलले पराजीत गर्दै नेपाल पुलिस क्लबले प्रतियोगितामा सान्तवाना जीत निकाल्यो । पोखरा रंगशालामा भएको खेलमा पुलिसलाई जित दिलाउन कुलदीप कार्कीले दुई गोल गर्दा आशिष श्रेष्ठ र बुद्धबल तामाङले समान एक-एक गोल गरे । लुम्बिनीका लागि फागुराम थारुले १ गोल फर्काए ।
जीतका बाबजुत पुलिस प्रतियोगिताबाट बाहिरिएको छ । यस समूहबाट त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा पुगिसकेको छ ।