खाद्य सुरक्षाका लागि थप लगानी गर्न राष्ट्रसंघको आग्रह

खाद्य सुरक्षाका लागि थप लगानी गर्न कम्बोडिया तथा संयुक्त राष्ट्रसङ्घीय एजेन्सीहरुले आग्रह गरेका छन् ।कम्बोडिया सरकार तथा संयुक्त राष्ट्रसङ्घीय एजेन्सी संयुक्त राष्ट्रसङ्घीय विश्व खाद्य कार्यक्रमले यस्तो आग्रह गरेका हुन् ।

यी संस्थाहरुले संयुक्त विज्ञप्ति प्रकाशन गरी विश्वका देशहरुलाई खाद्यान्न अभावको समस्या देशव्यापी रुपमा बढ्दै गएकाले यसका लागि अब सोच्नुपर्ने अवस्था आएको बताएका हुन् । हाल विश्वमा आन्तरिक द्वन्द्वका कारण कैयौँ देशबाट नागरिकहरुले देश छोड्नुपरिरहेको अवस्था छ ।

त्यस्तै बाढी पहिरो आदिका कारण पनि खाद्यान्न बालीमा समस्या उत्पन्न भएकाले खाद्यान्न अभावको अवस्था देखिँदै गएको पनि संयुक्त विज्ञप्तिमा जनाइएको छ ।

साथै हालका वर्षहरुमा विश्वमा जलवायु परिवर्तनका कारण समस्या उत्पन्न भइरहको र यसले कुनै पनि देशका खेती प्रणालीहरुमा नै असर गरिरहेकाले यो अवस्था आएकाले पनि खेती प्रणालीहरुमा परिवर्तन ल्याइ नयाँ खेती प्रणालीको विकासका लागि थप लगानी गर्नुपर्ने अवस्था आएको पनि बताइएको छ ।

देशहरुले दिगो खाद्य विकास कार्यक्रमहरु ल्याउनुपर्ने र खाद्यान्नका आपूर्तिका विधि र तरिकाहरुमा पनि परिवर्तन ल्याउनुपर्नेमा जोड दिइएको छ ।

आइतबार विश्व खाद्य दिवस विश्वका विभिन्न देशका खाद्यान्नको आवश्यकता, यसको उपलब्धता र आगामी दिनमा खाद्यान्नको सुनिश्चितताजस्ता विषयमा आवश्यक छलफल र परामर्श गरी मनाइएको छ ।

साथै संयुक्त राष्ट्रसङ्घीय कार्यक्रम लगायतका विश्वका अन्य सरकारी तथा गैरसरकारी सङ्घसंस्थाहरुले पनि आगामी दिनहरुमा जलवायु परिवर्तनका कारण विश्वमा खाद्यान्न अभावका थप समस्याहरु झेल्नुपरिरहेकाले यसतर्फ सबै सचेत हुनुपर्ने सन्देश पनि यस दिवसका अवसरमा दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *