काठमाडौँ । चीनका लागि नेपाली राजदूत विष्णुपुकार श्रेष्ठले चिनियाँ कम्युनिष्ट पार्टीको २०औ राष्ट्रिय महाधिवेशनले चीनलाई थप शक्तिशाली बनाउने बताएका छन् । चाइना मिडिया ग्रुप नेपाली सेवासँगको अन्तर्वार्तामा राजदूत श्रेष्ठले महाधिवेशनपछि विश्वमा चीनको भूमिका अझै बढ्ने बताए ।
चीनका राष्ट्रपति सी चिनफिङ केन्द्रित चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनतालाई गरिबीबाट मुक्त गरेको भन्दै उनले प्रशंसा पनि गरेका छन् । राजदूत श्रेष्ठले चीनले अगाडि सारेको बीआरआई र विश्व विकास अवधारणाबाट नेपालले पनि अधिक लाभ प्राप्त गर्ने विश्वास व्यक्त गरे ।
अन्तर्राष्ट्रिय जगतमा चीनको अभियान र विकास साझेदारी कार्यले विकासोन्मुख मुलुकलाई हित गरेको भन्दै नेपालको विकासमा चीनले गरेको योगदानको पनि उनले प्रशंसा गरे ।
राजदूत श्रेष्ठले चीनले चार दशक अगाडि सुरु गरेको सुधार र खुलापनको नीतिले वर्तमानमा चीनले विकासको फड्को मारेको सुनाए । चीनले अहिले विश्वको नेतृत्व गरिरहेको भन्दै सबैको जीत हुने नारा र सबैको साझा उज्जयल भविष्यको अभियानले सबैलाई हित पुगेको औँल्याए ।
सन् २०१९ मा चिनियाँ राष्ट्राध्यक्ष सी चिनफिङले गरेको नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा लगेको उनले स्पष्ट पारे । नेपाल र चीनबीचमा प्राचिन कालदेखि नै सांस्कृतिक सम्बन्ध रहेको भन्दै दुई देशबीचमा युगौँदेखि राम्रो समझदारी र विश्वास रहेको उनको मूल्याङ्कन छ ।
नेपाल र चीनबीचको मैत्री सम्बन्ध विश्वमै नमूना रहेको पनि उनको ठम्याइँ छ ।
