बेइजिङ । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) को बीसौँ महाधिवेशन आजदेखि ग्रेट हल अफ द पिपुल्समा सुरू भएको छ । बेइजिङ समयअनुसार बिहान १० बजे सुरु महाधिवेशनमा पार्टी महासचिव एवम् राष्ट्रपति सी चिनफिङले १९औँ केन्द्रीय समितिको तर्फबाट महाधिवेशन समक्ष कार्यप्रतिवेदन प्रस्तुत गरेका छन् ।
उनले भने, ‘चिनियाँ कम्युनिस्ट पार्टीको १८औँ महाधिवेशनको १० वर्षमा तीन प्रमुख घटनाहरूको अनुभव गरिएको छ, जुन पार्टी र जनताको लागि महत्त्वपूर्ण छ । पहिलो, चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिकी, दोस्रो चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ युगमा प्रवेश र तेस्रो गरीबी निवारण ।’
महासचिव सीका अनुसार पहिलो शताब्दी संघर्षको शताब्दी हो । साे ऐतिहासिक जीत चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताको ऐतिहासिक जीत भएको बताउँदै उनले चीनको विकास मात्रै नभएर विश्वका लागि गहिरो प्रभावको ऐतिहासिक जीत भएको बताए ।
महाधिवेशनमा चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू तथा विशेष प्रतिनिधिहरू गरी करीब २३ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् भने कम्युनिस्ट पार्टी र अन्य शुभेच्छुक दलका व्यक्तिहरू पनि सहभागी छन् ।
महाधिवेशन अक्टोबर २२ तारिखसम्म चल्ने जनाइएको छ । महाधिवेशनले सीपीसीको आगामी पाँच वर्षे नेतृत्वका साथै पार्टीको मार्ग तय गर्ने छ ।
महासचिव सीले आगामी पाँच वर्ष आधुनिक समाजवादी राष्ट्र निर्माणको लक्ष्य हासिल गर्नका लागि चुनौतीका पाँच वर्ष हुने उल्लेख गरे । सीपीसीले २०२० देखि २०३५ सम्म आधुनिक समाजवादी राष्ट्र बन्ने सपनालाई साकार पार्ने र २०३५ देखि शताब्दीको मध्यसम्म चीनलाई समृद्ध, बलियो, प्रजातान्त्रिक, साँस्कृतिक सद्भाव र सुन्दर मुलुक निर्माण गर्ने लक्ष्य राखेको छ ।
पछिल्लो दशक चीनले समाजवादी राष्ट्र निर्माणका दिशामा महान उपलब्धिहरु हासिल गरेको बताउँदै उनले शताब्तीसम्म सीपीसीले आफूलाई संघर्षबाट खार्दै ल्याएको र बलियोरुपमा स्थापित गरेको बताए ।
‘हामीले चिनियाँ विशेषतासहितको समाजवादको विकास गर्दै गर्दा पार्टीसँगै बलियो केन्द्रीय नेतृत्वमा विश्वास गरेको छ’, उनले भने, ‘सीपीसी र चिनियाँ जनता चीनको महान परिवर्तनका लागि पूर्ण विश्वासका साथ अगाडि बढेका छन् ।’
उनले चीनको कायाकल्प इतिहासमा अपरिवर्तनीय रहेको बताए । चिनियाँ पृष्ठभूमिमा मार्क्सवादको नयाँ अध्यायको निरन्तरता चिनियाँ कम्युनिस्ट पार्टीको आजको आवश्यकता भएको उनले बताए ।
महासचिव सीले आफ्ना अनुभवहरुले आधारभूत तहमा आफूलाई सिकाएको चिनियाँ विशेषतासहितको समाजवादलाई अगाडि बढाएको बताए । मार्क्सवाद आफ्नो पार्टीको आधारभूत निर्देशक सिद्धान्त रहेको र यसैको आधारमा देश निर्माण भएको उनले उल्लेख गरे ।
प्रतिवेदनमा सीले आफ्ना प्रमुख उपलब्धिहरुको चर्चा गरेका छन् । जसमा उनले शून्य कोभिड नीतिको पनि बचाउ गरे । चीनले जनताको जीवनलाई प्राथमिकतामा राखेको बताउँदै सीले सो नीतिका कारण मानिसको ज्यान बचेको बताए । ‘शून्य कोभिड नीति भाइरसलाई रोक्ने जनयुद्ध थियो,’ उनले भने।
महासचिव सीले गरिबी निवारणलाई आफ्नो प्रमुख उपलब्धिका रुपमा अघि सारेका छन् । गरिबी निवारण कम्युनिस्ट पार्टीको प्रमुख लक्ष्यमा पर्छ । जसअन्तर्गत चीनले करोडौँलाई चरम गरिबीबाट मुक्त गरेको घोषणा गरेको थियो ।
त्यस्तै, सीले चीनको खुलापनको नीति कायम रहेको उल्लेख गरे । ‘विकास चीनको सबैभन्दा शीर्ष प्राथमिकता हो । समाजवादी बजार अर्थतन्त्र र खुलापनतर्फको सुधार कायम रहनेछ,’ उनले भने ।
सीले चिनियाँ सेनालाई थप बलियो बनाउने बाचा पनि गरे । ‘अहिले जनमुक्ति सेनाको नयाँ छवि र नयाँ संरचना छ,’ उनले भने ।
उनले पछिल्लो समय भएका वैज्ञानिक प्रगतिको प्रशंसा गरे । समग्रमा गुणस्तरीयमा विकासमा जोड दिने सीको भनाइ थियो ।
महाधिवेशनकाे प्रत्यक्ष प्रसारणकाे लागि यहाँ क्लिक गर्नुहाेस् ।

