आठ आयोगले निर्वाचन अनुगमन गर्ने

काठमाडौं । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको मानव अधिकारसम्बन्धी आठवटा संवैधानिक आयोगले संयुक्त अनुगमन गर्ने भएका छन् ।

ती आयोगका प्रतिनिधिको संयुक्त छलफलबाट यस्तो सहमति भएको हो । राजनीतिक दलहरूले गरेका उम्मेदवारी मनोनयन समावेशी लोकतन्त्र, मानव अधिकार, संविधानको मर्म र भावनाअनुरूप पूर्ण रूपमा समावेशी तथा समानुपातिक हुन नसकेको भन्दै ती आयोगका पदाधिकारीले चिन्ता प्रकट गरेका छन् ।

आगामी दिनमा यसमा सुधार ल्याउनेतर्फ कदम चाल्न सम्बन्धित सबैलाई उनीहरूले आह्वान गरेका छन् । निर्वाचनमा राजनीतिक दलहरूले तयार गर्ने घोषणापत्रमा मौलिक हकको प्रभावकारी कार्यान्वयन तथा मानव अधिकारको सुनिश्चितताका लागि आफ्ना प्रतिबद्धता समावेश गरी त्यसलाई व्यावहारिक रूपमा कार्यान्वयन गर्न राजनीतिक दलहरूलाई आह्वान गर्ने सहमति पनि उनीहरूको छ ।

छलफलमा राष्ट्रिय मानव अधिकार आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय दलित आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारू आयोग र मुस्लिम आयोगका प्रतिनिधिको सहभागिता रहेको राष्ट्रिय मानव अधिकार आयोगले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *