पोखरा । विभागीय टोली त्रिभुवन आर्मी फूटबल क्लबले नवौं राष्ट्रिय खेलकुद अन्तर्गत जारी पुरुष फूटबलमा सहज जीत निकालेको छ । शुक्रबार दिउँसो भएको लुम्बिनी प्रदेशलाई ४-१ गोलले पराजीत गर्दै आर्मीले प्रतियोगितामा उत्कृष्ट शुरुवात गरेको हो ।
पोखराको गोस्टेघाट खेल मैदानमा भएको खेलमा आर्मीको जीतमा दिनेश हेम्जन, जर्ज प्रिन्स कार्की र नवयुग श्रेष्ठले एक/एक गोल गर्दा एक गोल उपहार पाएको हो । लुम्बिनीको लागि चेतन थारुले एक गोल फर्काए । एकपक्षीय खेलको पाँचौ मिनेटमा दिनेशको गोलमा आर्मीले शुरुवाती अग्रता बनाएको थियो । २४ औं मिनेटमा लुम्बिनीका खेलाडीले आफ्नै पोस्टमा आत्मघाती गोल गरेपछि आर्मीले खेलमा २-० गोलको अग्रता बनाएको थियो ।
४७ औं मिनेटमा जर्ज प्रिन्सले गोल गर्दा आर्मी सहज जीततर्फ अगाडि बढेको थियो । ५० औं मिनेटमा चेतनले गोल गर्दा लुम्बिनी खेलम फर्किने संकेत दिएको थियो । तर इन्जुरी समयमा नवयुग श्रेष्ठले गोल गर्दै आर्मीलाई ४-१ गोलको जीत दिलाए ।