घोषणापत्रको अन्तिम तयारीमा दलहरू

काठमाडौं । प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन लक्षित घोषणापत्र तयारीमा राजनीतिक दलहरू जुटेका छन् । मङ्सिर ४ गते हुने निर्वाचनमा मतदाता आकर्षित गरी अनुमोदित हुने अभिप्रायले राजनीतिक दलहरू घोषणापत्रलाई अन्तिम रूप दिन सक्रिय छन् ।

सत्ता साझेदारहरू नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चासँगै गठबन्धनमा आबद्ध लोकतान्त्रिक समाजवादी पार्टी घोषणापत्र सार्वजनिक गर्ने तयारीमा जुटेका छन् । प्रतिपक्षी दल नेपाल कम्युनिस्ट पार्टी (एमाले), जनता समाजवादी पार्टी नेपालसहितका राजनीतिक दल पनि घोषणापत्र सार्वजनिक गर्ने तयारीमा छन् ।

कांग्रेस महामन्त्री गगनकुमार थापाले शुक्रबार बस्ने केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा घोषणापत्रको प्रारम्भिक खाकामाथि छलफल गरेर दुई–तीन दिनभित्रै सार्वजनिक गर्ने बताए । एमाले उपमहासचिव प्रदीप ज्ञवालीले घोषणापत्र लेखन, आवरण निर्माणसहित सम्पूर्ण काम सकिएकाले केही दिनभित्रै सार्वजनिक गर्ने बताए ।

माओवादी केन्द्रकी नेत्री ओनसरी घर्तीमगरले जनताबाट आएका सुझावसहित घोषणापत्र तयार गरिएको जानकारी दिँदै पार्टीभित्रको छलफलपछि परिमार्जनसहित सार्वजनिक गरिने जनाईन् ।

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीको घोषणापत्र लेखनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै केही दिनमै सार्वजनिक गर्ने बताए। जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव, लोकतान्त्रिक समाजवादीका अध्यक्ष महन्थ ठाकुर र जनमोर्चा उपाध्यक्ष दुर्गा पौडेलले घोषणापत्र निर्माण भइरहेको बताउन्छन् ।

सबै दलका घोषणापत्र तयारी समितिले ‘नवीनता र समृद्धिलार्ई केन्द्रमा राखेर घोषणापत्र तयार गर्दैछन् । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *