पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत आजबाट शुरु भएको पुरुष फूटबल प्रतियोगितामा बागमती प्रदेश विजयी भएको छ । बिहीबार दिउँसो भएको दोस्रो खेलमा बागमतीले मधेश प्रदेशमाथि २-० गोलको जीत निकालेको हो ।
पोखराको गोस्टेघाट खेल मैदानमा भएको खेलमा बागमतीलाई जीत दिलाउन अन्जन विष्ट र सुनिल बलले समान एक-एक गोल गरे ।
आजै भएको प्रतियोगिताको उद्धाटन खेलमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले प्रदेश नम्बर १ लाई २-० गोलले हराउँदै प्रतियोगितामा विजयी शुरुवात गरेको थियो ।
अब प्रतियोगिताको भोलि शुक्रबार हुने खेलमा लुम्बिनी प्रदेश र त्रिभुवन आर्मी फूटबल क्लब तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश भिड्नेछन् ।
तस्बिर- गोलनेपाल डट कम