पोखरा । नवौं राष्ट्रिय खेलकुद अन्तर्गत भएको पुरुष फुटबलमा गैरआवासीय नेपाली संघ (एनआरएनए)ले विजयी शुरुवात गरेको छ । बिहीबार भएको उद्घाटन खेलमा एनआरएनएले प्रदेश नं १ लाई २–० गोलअन्तरले पराजित गर्दै प्रतियोगितामा विजयी सुखद शुरुवात गरेको हो ।
पोखराको गोस्टेघाट खेल मैदानमा भएको खेलमा एनआरएनएलाई जीत दिलाउन विमल घर्ती मगर र सञ्जोग राईले एक-एक गोल गरे । प्रदेश १ को टोली प्रतियोगिता स्थलमा ढिलो पुगेपछि ढिलो शुरु भएको खेल ३५-३५ मिनेटको खेलाइएको थियो । एनआरएनएले राष्ट्रिय टोलीका खेलाडीलाई मैदानमा उतारेको विषयमा दुई टोलीबीच केहिबेर विवाद भएको थियो ।
एनआरएनएबाट राष्ट्रिय टोलीका अनन्त तामाङ, विमल घर्ती मगर, सञ्जोक राई, निशान खड्का, सुजल श्रेष्ठ र पुजन उपरकोटी शुरुवाती ११ मा रहँदै खेलेका थिए ।
तस्बिर – एनएसजेएफ गण्डकी