हराए बाउन्न पोखरी, त्रिपन्न टाकुरी

रुकुमपूर्व, असोज २७ । सिस्ने गाउँपालिकाका दुईवटा वडा मिलेर रुकुमकोट बनेको छ। वडा नं ५ र ६ का अग्ला पहाडका बीचको सुन्दर ठाउँ रुकुमकोट सानो उपत्यका पनि हो। जुन उपत्यका ५२ पोखरी, ५३ टाकुरीको उपनामले पनि चिनिन्छ।

अहिले पोखरी र टापु हराएर घरैघर बनेका छन्। पोखरी अतिक्रमण गरी खेतीपाती गर्न थालिएको छ। २०१९ सालमा सल्यानबाट अलग्गिएर रुकुम छुट्टै जिल्ला बन्ने क्रममा रुकुमकोट क्षेत्रलाई ५२ पोखरी, ५३ टाकुरी हो भनेर तत्कालीन सरकारलाई जानकारी गराइएको बूढापाकाको भनाइ छ।

२०५२ सालमा जग्गा नापनक्सा गर्ने क्रममा गाउँघरका धेरै टाठाबाठाले यी टाकुरी र पोखरीलाई आआफ्ना नाममा नापजाँच गराए। धेरै टाकुरी र पोखरी व्यक्तिगत रूपमा दर्ता गराइएपछि रुकुमपूर्वस्थित रुकुमकोटको ५२ पोखरी, ५३ टाकुरीको चिनारी बिस्तारै हराउँदै जान थालेको छ।

पछिल्लो समय सिस्ने गाउँपालिकाले २० वर्षे गुरुयोजना बनाएर यसको संरक्षण गरी रुकुमकोट उपत्यकालाई पर्यटकीय नगरीका रूपमा विकास गर्ने जनाएको छ। धेरै पोखरी र टाकुरी हाल व्यक्तिका नाममा रहेकाले यो समस्या समाधान गर्न सरकारलाई चुनौती रहेको सिस्ने गाउँपालिकाका अध्यक्ष कृष्ण रेग्मीले बताए।

जनसङ्ख्या वृद्धिसँगै प्राकृतिक रूपले पनि पोखरी र टाकुरी मासिँदै आएको उनले बताए । मासिँदै गएका र अतिक्रमण भएका पोखरी र टाकुरी हाल व्यक्तिका नाममा जग्गा दर्ता भइसकेकाले यसलाई पुरानो अवस्थामै ल्याउन कठिन रहेको आजको गोरखापत्र दैनिकमा खवर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *