काठमाडौं । आगामी मंसिर चार गते हुने निर्वाचनका लागि विभिन्न दलबाट दम्पतीसहित तीन दर्जनभन्दा बढी नातेदार चुनावी मैदानमा उत्रिएका छन् । उम्मेदवार छनोटमा मनोमानी भएको भन्दै हरेक दलमा असन्तुष्टि छ । नेतृत्वले भूमिका र योगदानकै आधारमा परिवारका सदस्य उम्मेदवार बनेको बताए पनि विश्लेषकहरूले भने यसलाई लोकतन्त्रका लागि अस्वाभाविक मानेका छन् । नातावाद र कृपावाद बढी सत्ता गठबन्धनका दलमा देखिएको छ । संघ र प्रदेशसभा निर्वाचनमा प्रधानमन्त्री शेरबहादुर देउवासहित नौ नेताका दम्पती नै उम्मेदवार छन् । अरू कतिपय नेताका परिवारका दुई–तीनजना सदस्यसम्म चुनावी प्रतिस्पर्धा छन् ।
प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा सातौँपटक डडेल्धुरामा प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ उम्मेदवार छन् । उनकी पत्नी डा. आरजु राणा समानुपातिक खस–आर्य समूहबाट तेस्रो नम्बरमा उम्मेदवार छिन् । राणा यसअघि पनि दुई कार्यकाल समानुपातिक सांसद बनिसकेकी छन् । गृहमन्त्री बालकृष्ण खाँणका पनि दम्पती नै उम्मेदवार छन् । खाँण रुपन्देही– ३ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने पत्नी मञ्जु खाँण प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छिन् । माओवादी उपमहासचिव वर्षमान पुन र पूर्वसभामुख ओनसरी घर्ती श्रीमान/श्रीमती हुन् । पुन रोल्पाबाट र घर्ती काठमाडौं– २ बाट उम्मेदवार बनेका छन् । जसपाका वरिष्ठ नेता अशोक राई सुनसरी– १ बाट प्रत्यक्षमा उम्मेदवार बनेका छन् भने उनकी पत्नी सुशीला श्रेष्ठको प्रतिनिधिसभाकै समानुपातिकको बन्दसूचीमा नाम छ ।
जेलजीवन बिताइरहेका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरीले बर्दिया– २ बाट उम्मेदवारी दिएका थिए । तर उनको उम्मेदवार खारेज भएको छ । उनकी पत्नी रञ्जिता श्रेष्ठ कैलाली– १ बाट चुनावी मैदानमा उत्रिएकी छन् । माओवादी सचिव तथा शिक्षामन्त्री देवेन्द्र पौडेल र खेलकुदमन्त्री महेश्वर गहतराजका पनि दम्पती नै उम्मेदवार बनेका छन् । पौडेल बाग्लुङ– २ बाट प्रत्यक्षतर्फ उम्मेदवार छन् भने पत्नी बलावती शर्मा प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छिन् ।
खेलकुदमन्त्री महेश्वर गहतराज बाँके– १ बाट प्रतिनिधिसभा सदस्यका लागि प्रतिस्पर्धा गर्दैछन् भने उनकी पत्नी पार्वती गहतराजको नाम लुम्बिनी प्रदेश सभाको समानुपातिक सूचीमा छ । त्यस्तै, माओवादीका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट डडेल्धुराबाट प्रदेश सभा सदस्यका लागि प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । उनकी पत्नी मञ्जु बम प्रदेशमै समानुपातिक सूचीमा छिन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को परिवारबाट तीनजना उम्मेदवार छन् । प्रचण्ड गोरखा– २ बाट र बुहारी विना मगर कञ्चनपुर– १ बाट प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार छन् । ज्वाइँ जीवन आचार्य मोरङ– ६ (क)बाट प्रदेश सभामा प्रतिस्पर्धा गर्दैछन् ।
लोसपा अध्यक्ष महन्थ ठाकुर महोत्तरी– ३ बाट प्रतिनिधिसभामा प्रत्यक्षका उम्मेदवार छन् । उनकी छोरी मीनाक्षी ठाकुर प्रतिनिधिसभाकै समानुपातिक उम्मेदवार छिन् । कांग्रेसभित्र कोइराला परिवारको बिरासत धान्दै तीनजना उम्मेदवार बनेका छन् । नेता डा. शेखर कोइराला मोरङ– ६ बाट प्रतिस्पर्धा गर्दैछन् । उनी बिपी कोइरालाका जेठा दाइ केशवका छोरा हुन् । बिपीपुत्र डा. शशांक नवलपुरबाट उम्मेदवार छन् । बिपीका कान्छा भाइ गिरिजापुत्री सुजाता मोरङ– २ बाट भिड्दै छिन् । माओवादी उपमहासचिव शक्ति बस्नेत जाजरकोटबाट र अर्थमन्त्री जनार्दन शर्मा पश्चिम रुकुमबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार बनेका छन् । बस्नेतकी बहिनी ज्ञानु र शर्माकी बहिनी नारायणी प्रतिनिधिसभातर्फकै समानुपातिकतर्फका उम्मेदवार छन् ।
पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकी छोरी मानुषी यमी भट्टराई काठमाडौं– ७ मा प्रत्यक्षतर्फ उम्मेदवार छिन्। मानुषीकी काकी दुर्गा भट्टराई न्यौपाने प्रतिनिधिसभाकै समानुपातिक सूचीमा छिन् । नेपालका दलहरूको उम्मेदवार छनोटको शैलीले दक्षिण एसियाली अन्य मुलुकमा जस्तै नेपालमा पनि वंशवादको राजनीति हाबी हुँदै गएको संकेत गरेको छ । लोकतन्त्रमा राजनीति भनेको सार्वजनिक जिम्मेवारी हो । यो कुनै व्यक्तिले निजी कम्पनी चलाएजस्तो होइन । त्यसैले राजनीतिमा लागेको छु भन्दैमा सबैजना लाग्ने र सबैले अवसर लिने सरासर गलत छ । परिवारका एकजना बाहेकले राजनीतिमा अवसर नपाउने संस्कार विकास गरेर यस्तो विकृति रोक्नुपर्छ । किनकी यसलाई रोक्न सकिएन भने बिस्तारै इमान्दार मान्छे राजनीतिबाट पाखा लाग्छन् ।
