अध्यागमनका कर्मचारीको कमजोरीका कारण रिजवान आलम फरार

काठमाडौं, असोज २६ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विशिष्ट कक्ष प्रयोग गरी ठगी मुद्दाका आरोपी रिजवान आलम फरार भएका घटनामा छानबिन समितिले अध्यागमन विभागको कमजोरी भएको निष्कर्ष निकालेको छ।

नेपाल मुस्लिम आयोगको निमन्त्रणामा गत भदौ १७ गते संयुक्त अरब इमिरेट्स (यूएई)को संसदीय टोली नेपाल भ्रमणमा आएको थियो। परराष्ट्र मन्त्रालयले उक्त भ्रमण टोलीलाई विमानस्थलको विशिष्ट कक्ष प्रयोग गर्न दिनेबारे पत्राचार गरेको थियो।

सो भ्रमण टोलीसँगै ठगी आरोपमा नेपाल प्रहरीको खोजी सूचीमा रहेका सुनसरीका ३० वर्षीय रिजवान आलम फरार भएका थिए। उपत्यका अपराध अनुसन्धान कार्यालय तथा नयाँ बानेश्वर प्रहरी वृत्तको टोलीले आलमलाई सोही दिन राति १० बजे नक्सालस्थित होटल मेरियटबाट पक्राउ गरेको थियो।

विमानस्थलको विशिष्ट कक्ष दुरुपयोग भएकोबारे छानबिन गर्न त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले छानबिन समिति बनाएको थियो। नागरिक उड्डयन कार्यालयका निर्देशक टेकनाथ सिटौलाको संयोजकत्वमा गठित पाँच सदस्यीय छानबिन समितिले अध्यागमन विभागले यात्रुको विवरण समयमा उपलब्ध नगराएका कारण आरोपी विशिष्ट कक्षबाटै फरार भएको निष्कर्ष निकालेको छ।

त्रिवि अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रबन्धक प्रेमनाथ ठाकुरले छानबिनक्रममा विशिष्ट कक्ष दुरुपयोग भएको देखिएपछि कर्मचारीलाई सचेत गराइएको जानकारी दिए।

उनले कुन यात्रु अपराधी हुन् वा होइनन् भन्नेबारे नागरिक उड्डयन कार्यालयलाई जानकारी नहुने बताउँदै भने, “विमानस्थल प्रयोग गर्ने यात्रुको विवरण अध्यागमन विभागसँग हुन्छ। फरार अभियुक्तबारे सूचना आउन ढिला हुँदा कमजोरी भएको देखियो।”

उनले विमानस्थलमा एड्भान्स प्यासेन्जर इन्फरमेसन सिस्टम (एपीआईएस) प्रयोगमा ल्याउन ढिलाइ भएका कारण यस्ता समस्या बेलाबेला दोहोरिने गरेको स्वीकारे।

यूएईबाट फ्लाई दुबईको विमान एफजेट–०५७१ को विमानबाट आलम बिहान ८स्४७ बजे काठमाडौँ ओर्लिएका थिए। आलमको पासपोर्टमा ‘अराइभल’ छाप लगाउनेक्रममा शङ्कास्पद देखिएको थियो तर अध्यागमनले त्यसको जानकारी प्रहरीलाई समयमा दिएन।

आलम बिहान ९स्१६ बजे विदेशी पाहुनासहित विशिष्ट कक्षबाट बाहिरिएका थिए। विमानस्थलबाट बाहिरिसकेको सूचना पाएपछि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली उनको खोजीमा परिचालित भएको थियो। फरक पहिचानसहित होटलमा बसेका उनलाई प्रहरीले १३ घण्टापछि पक्राउ गरेको थियो। गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *