हट्ने भए जोखिमपूर्ण विद्युत् क्याबिनेट

काठमाडौं । मानिसको ज्यान नै खतरामा पर्ने गरी सडकपेटीमा राखिएका विद्युतका क्याबिनेट हटाइने भएको छ । ती क्याबिनेट हटाउन नेपाल विद्युत प्राधिकरणले नयाँ डिजाइन गरेको छ ।

काठमाडौँ उपत्यकामा विद्युत्का तार भूमिगत गर्दा पैदलयात्रीको अधिकार क्षेत्रका सडकपेटीमा बनाइएका क्याबिनेट जोखिमपूर्ण छन् । नेपाल विद्युत् प्राधिकरणले ‘खतरायुक्त’ सङ्केतसहित उच्च भोल्टका क्याबिनेट राख्दा पैदलयात्रीको जीवन जोखिममा पर्दै आएको हो ।

बाटोघाटोमा निर्बाध र निस्फिक्रीसाथ हिँडडुल गर्न नपाउनुका साथै पैदलयात्रीलाई पर्खाल र क्याबिनेटको बीचमा च्यापिएर हिँड्नुपर्ने अवस्था छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सडकपेटीमा राखिएका क्याबिनेट छिट्टै नै हटाउने बताए । प्राधिकरणले अहिलेसम्म काठमाडौँ उपत्यकाभर तीन हजार सात सय क्याबिनेट जडान गरेको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले अहिले सडकपेटीमा राखिएका क्याबिनेट हटाउन नयाँ इन्जिनियरिङ रि–डिजाइन गरिसकिएको बताए । उनले भने, “नयाँ डिजाइनअनुसार अहिले राखिएका क्याबिनेटलाई हटाएर नयाँ पातलो (स्लिम) तथा विद्युत् सर्ट हुन नसक्ने खालको बक्स राखिनेछ ।”

सडकपेटीमा नयाँ डिजाइनअनुसारको क्याबिनेट राखेपछि फुटपाथमा हिँडडुल गर्ने सर्वसाधारणलाई कुनै अप्ठ्यारो वा खतरा नहुने उनको दाबी छ । नयाँ डिजाइनअनुसार चौडा भएको सडकपेटीमा भुइँमा नै र साँघुरो ठाउँमा भने ट्रान्सफरमरजस्तै पोलमा क्याबिनेट राखिने बताउँदै प्रवक्ता भट्टराईले भने, “अब राखिने क्याबिनेटले सडकपेटी पनि ‘ब्लक’ हुँदैन । कुनै प्रकारको विद्युतीय खतरासमेत हुँदैन ।” नयाँ डिजाइनअनुसारको क्याबिनेटको आयतन मात्र दुई सय एमएम बाक्लो हुनेछ ।

प्राधिकरणले बिजुलीको तार भूमिगत गर्ने क्रममा एयरपोर्ट, टोखा, गोंगबु, चाबहिल, धोबीखोला, ठमेल, त्रिपुरेश्वर, सिंहदरबार, लाजिम्पाट, जोरपाटी, बालुवाटार, बूढानीलकण्ठ, महाराजगञ्ज, रत्नपार्क, नयाँ सडक ९न्युरोड० र अनामनगर क्षेत्रको सडकपेटीमा क्याबिनेट राखेको छ । गोरखापत्र दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *