काठमाडौं। प्रमुख राजनीतिक दलका अध्यक्षले उम्मेदवारी दिएका क्षेत्रमा विपक्षी पार्टीहरूले कमजोर उम्मेदवार दिएर एकले अर्कालाई अघोषित सहजीकरण गरेका छन्। आगामी मंसिर ४ मा हुन गइरहेको निर्वाचनमा होमिएका चार शीर्ष नेताहरूको क्षेत्रमा सबै दलले कमजोर उम्मेदवार दिएका हुन्। एकातर्फ कांग्रेस नेतृत्वको पाँच दलीय सत्तागठबन्ध र अर्को तर्फ एमाले नेतृत्वमा जसपा र राप्रपाको स्थान विशेषको गठबन्धन भए पनि शीर्ष नेताहरूको स्थानमा दुवैपक्षले कमजोर उम्मेदवार खडा गरेका छन्।
झापा–५ बाट प्रतिनिधिसभा मनोनयन दर्ता गराएका एमाले अध्यक्ष ओलीसँग प्रतिस्पर्धाका लागि कांग्रेसले आफ्नो मत सुरक्षित गर्नका लागि मात्रै उम्मेदवारी दिएको छ। गठबन्धन दलबीच सिट बाँडफाँट हुँदा झापा–५ कांग्रेसको भागमा परेपछि कांग्रेसले खगेन्द्र अधिकारीलाई उम्मेदवार बनाएको छ।
अधिकारी खासै चिनिएका र सुनिएका उम्मेदवार नभएकाले ओलीका लागि निर्वाचन सहज हुने अनुमान गरिएको छ। यस पटक झापा क्षेत्र नम्बर ३ मा राप्रपाका राजेन्द्र लिङ्देनलाई एमालेले सहयोग गर्नेछ। झापामा राप्रपाको मत निकै राम्रो भएकाले ओलीले आफूलाई थप सुरक्षित बनाउन राप्रपासँग तालमल गरेका हुन्।
यसैगरी सातौं पटक निर्वाचनका लागि होमिएका प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको क्षेत्र पनि सुरक्षित रहेको बताइन्छ।
देउवाले प्रतिस्पर्धीका रुपमा कांग्रेस बिपीका कर्ण मल्ल पाएका छन्। नेपाली कांग्रेसकै नेता कार्यकर्ता भए पनि पछिल्लो पटक देउवासँग असन्तुष्ट रहेका मल्ल देउवाकै पुराना सहयोगी हुन्। देउवालाई हराउन एमालेले मल्ललाई सहयोग गर्ने भन्दै डडेलधुरामा उम्मेदवारी नदिने निर्णय गरेको थियो। तर, अन्तिम अवस्थामा एमालेले उम्मेदवारी दिए पनि कमजोर व्यक्तिलाई उठाएको छ। देउवालाई एक टेलिभिजन कार्यक्रममा प्रश्न सोधेर सामाजिक सञ्जालबाट चर्चामा आएका सागर ढकालको पनि उम्मेदवारी परेको छ। उनी अहिले मत माग्न जानुको साटो निराहार व्रत बस्न लागिपरेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुप्कमल दाहालका लागि झन् सहज भएको छ। स्थानीय तहको निर्वाचनमा सबैभन्दा बढी मत माओवादीले ल्याएका कारण दाहाल गोरखातर्फ आकर्षित भएका हुन्। चितवन–३ भन्दा गोरखा सहज भएपछि दाहालले अन्तिम समयमा गोरखा रोजेका हुन्। गोरखालाई माओवादीको आधारथलो समेत भन्ने गरिएको छ।
गोरखा–२ बाट पूर्वमाओवादी नेता डा बाबुराम भट्टराई र माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले पनि उम्मेदवारी दावी गरेका थिए। सुरुमा श्रेष्ठ र भट्टराईले दाबी गरेको भए पनि भट्टराईले आफ्नी छोरी मानुषी भट्टराईलाई काठमाडौं–७ बाट गठबन्धनतर्फबाट उम्मेदवार बनाउने सर्तमा दाहाललाई गोरखा छाडेका थिए।
चितवनबाट निर्वाचन लड्ने तयारीमा रहेका दाहाललाई बाबुराम र नारायणकाजीकै जोडबलमा गोरखा लगिएको थियो। त्यसैका आधारमा पनि दाहाललाई जित्न सहज देखिन्छ। गोरखा–२ मा गठबन्धनका उम्मेदवार दाहालका मुख्य प्रतिस्पर्धी नेकपा एमालेले सोे क्षेत्रमा कमजोर उम्मेदवार उठाएको छ।
गोरखा–२ मा अब्दुस मियाँ एमालेका उम्मेदवार हुन्। २८ वर्षीय मियाँ खासै चिनिएका र सुनिएका उम्मेदवार होइनन्। उनी भर्खरै साझा विवेकशील पार्टी छाडेर सर्वेन्द्र खनालसँग एमालेमा प्रवेश गरेका व्यक्ति हुन्। त्यहाँ कांगे्रसका तर्फबाट माधवी भट्टले पनि उम्मेदवारी दिएकी छिन्। काठमाडौं क्षेत्र नम्बर २ दाबी गरेकी भट्टले माओवादी अध्यक्षविरुद्ध उम्मेदवारी दिएकी छिन्।
यस्तै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई पनि सहज हुने अवस्था छ। नेपालसँग गौरका पूर्व मेयर अजय गुप्ताले प्रतिस्पर्धा गर्दैछन्। गुप्ता माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्। नेपाललाई काठमाडौंको क्षेत्र–२ भन्दा रौतहट–१ सहज हुने देखिएको छ। नागरिक दैनिकबाट