उत्तर कोरियाद्वारा जापानतर्फ बलिस्टिक क्षेप्यास्त्र प्रहार

उत्तर कोरियाले उत्तरी जापानको एक क्षेत्रमा शङ्कास्पद मध्यम दूरीको बलिस्टिक क्षेप्यास्त्र प्रहार गरेको छ । जसकाकारण जापान सरकारले होक्काइडो टापुका मानिसहरूलाई उडानको समयमा सतर्कता अपनाउन चेतावनी दिएको छ भने केही रेल सेवाहरू अस्थायी रूपमा बन्द गरिएका छन् ।

सन् २०१७ यता उत्तर कोरियाले जापानमाथि प्रहार गरेको यो पहिलो क्षेप्यास्त्र हो । संयुक्त राष्ट्रसङ्घले उत्तर कोरियालाई बलिस्टिक र परमाणुअस्त्र परीक्षण गर्न प्रतिबन्ध लगाएको छ ।

अधिकारीहरूका अनुसार उक्त क्षेप्यास्त्र जापानबाट करिब तीन हजार किलोमिटर पर प्रशान्त महासागरमा खसेको थियो र त्यसबाट कोही घाइते भएको विवरण आएको छैन ।

जापानका प्रधानमन्त्री फुमियो किशिदाले उक्त प्रक्षेपणलाई हिंसक व्यवहार भन्दै उक्त कार्यको कडा निन्दा गरेका छन् । पछिल्लो परिस्थितिलाई लिएर जापान सरकारले राष्ट्रिय सुरक्षा परिषद्को बैठक बोलाएको छ । यो प्रक्षेपण जापान र अमेरिकाको ध्यानाकर्षण गराउनको लागि जानाजान गरेको जस्तो देखिन्छ ।

अहिले अमेरिका र जापानले उत्तर कोरियाली नेता किम जङ अनलाई बेवास्ता गरिरहेका छन् । कुनै पनि पूर्व चेतावनी वा परामर्श विना अन्य देशतर्फ वा माथि क्षेप्यास्त्र उडाउनु अन्तर्राष्ट्रिय मापदण्डको पूर्ण उल्लङ्घन हो ।

धेरै देशहरू यस्तो कार्य गर्न पूर्ण रूपमा जोगिन्छन् किनकि यस्तो कार्यले सहजै आक्रमणको रूप लिनसक्छ र उत्तेजना बढाउन सक्छ । अमेरिकाले उत्तर कोरियाको निर्णयलाई दुर्भाग्यपूर्ण भनेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *