म्याडिसन नायक बन्दा लेस्चरको पहिलो जीत

एजेन्सी । इंग्लिस मिडफिल्डर जेम्स म्याडिसन चम्केपछि लेस्चर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जीत निकालेको छ । सोमबार राति भएको खेलमा नोट्टिन्हाम फरेस्टलाई ४-० गोलले हराउँदै लेस्चरले लिगमा पहिलो जीत दर्ता गरेको हो ।

किंङ पावर स्टेडियममा भएको खेलमा घरेलु टोलीलाई जीत दिलाउन म्याडिसनले दुई गोल गर्दा हार्भे बार्नेस र प्याट्सन डाकाले समान एक-एक गोल गरे । खेलको २५ औं मिनेटमा म्याडिसनले गोल गर्दै लेस्चर सिटीलाई शुरुवाती अग्रता दिलाएका थिए । २७ औं मिनेटमा भार्डीको पासमा बार्नेसले गोल गर्दै लेस्चरको अग्रता दोब्बर बनाए । ३५ औं मिनेटमा म्याडिसनले फ्रिकिकमा गोल गर्दा लेस्चरले पहिलो हाफमा ३-० गोलको अग्रता बनाएको थियो ।

७३ औं मिनेटमा म्याडिसनकै पासमा डाकाले गोल गर्दै लेस्चरलाई सहज जीततर्फ अगाडि बढाएका थिए । बाँकी समयमा दुवै टोलीबाट थप गोल हुन नसक्दा लेस्चर ४-० गोलले विजयी भयो ।

जीतसँगै लेस्चर ८ खेलबाट ४ अंक जोड्दै १९ औं स्थानमा उक्लिएको छ । समान खेलबाट ४ अंकनै जोडेको नोट्टिन्हाम गोल अन्तरमा पछि रहँदै लिगको पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *