आगामी निर्वाचनमा गठबन्धनलाई पराजित गरी एमालेले बहुमत ल्याउँछः पोखरेल

काठमाडौं । नेकपाप एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाँच दलीय गठबन्धनलाई एमालेले पराजित गर्ने दाबी गरेका छन् ।

मंगलबार एमालेको जनसंगठन राष्ट्रिय खेलकुद महासंघले आयोजना गरेको कार्यक्रममा पोखरेलले ९ लाख पार्टी सदस्य भएका कारण एमालेको बहुमत आउने दाबी गरेका हुन् ।

उनले भने, ‘गठबन्धनको कुनै सिद्धान्त, उद्देश्य, दृष्टिकोण, कार्यक्रम र गन्तव्य छैन। यो गठबन्धनको उद्देश्य एमालेलाई समाप्त गर्न चाहने मात्रै हो। यो गठबन्धनको आपराधिक षड्यन्त्रलाई पराजित गर्न सबै लाग्न जरुरी छ।’ उनले स्थानीय तहको निर्वाचनमा जनताको सबैभन्दा लोकप्रिय मत प्राप्त गर्ने एमाले सबैभन्दा ठूलो पार्टी बनेको भन्दै आगामी निर्वाचनमा पनि एमाले पहिलो बन्ने बताए ।

उनले भने, ‘स्थानीय तहको निर्वाचनमा गठबन्धनले एमालेलाई भित्तामा टाँसिदिन्छु भनेका थिए, टर्च बालेर खोज्नपर्छ भनेका थिए। तर, जनताको सबैभन्दा लोकप्रिय मत प्राप्त गर्ने एमाले सबैभन्दा ठूलो पार्टी बन्यो।’

उनले यसपटकको चुनावलाई लडाइँको रुपमा लिन कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले भने,‘यो निर्वाचनलाई केवल निर्वाचनमात्रै ठान्न हुँदैन। यसपटकको निर्वाचन लडाइँको रुपमा हाम्रो अगाडि छ, जुन लडाइँ हामीले जित्नैपर्छ। जित्नैपर्ने लडाइँको रुपमा हामी यो निर्वाचनमा छौं।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *