रुसद्वारा जगेडा सैनिक परिचालनको निर्णयमा कमजोरी भएको स्वीकार

जनस्तरमा असन्तुष्टि र विरोध बढेपछि रुसी राष्ट्रपतिको कार्यालय क्रेम्लिनले युक्रेनमा लड्न जगेडा सैनिक परिचालन गर्ने अभियानमा कमजोरीहरू भएको स्वीकार गरेको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका प्रवक्ताले आदेश उल्लङ्घन भएका केही घटना भएको भन्दै सबै त्रुटिहरू सच्याइने बताए ।

कैयौँ विवरणमा सैन्य अनुभव नभएका व्यक्ति वा धेरै वृद्ध तथा अशक्त व्यक्तिहरूलाई पनि सैन्य सेवाका लागि बोलाइएको उल्लेख गरिएको छ । गत साता जारी भएको जगेडा सैनिक परिचालनको आदेशप्रति रुसमा व्यापक विरोध सुरु भइसकेको छ ।

राष्ट्रपति पुटिनले सेप्टेम्बर २१ मा आंशिक सैन्य परिचालनको घोषणा गरेका थिए पछि रक्षामन्त्री सेर्गेई शोइगुले जगेडामा राखिएका तीन लाख सैनिकलाई बोलाइने बताएका थिए । यद्यपि विपक्षी रुसी सञ्चारमाध्यममा आएका विवरणहरूका अनुसार १० लाख मानिसलाई बोलाउन सकिन्छ।

उनीहरूले त्यसलाई पुष्टि गर्ने आधारका रूपमा पुटिनको वास्तविक आदेशमा भएको सङ्ख्या उल्लिखित एउटा अनुच्छेद हटाएर क्रेम्लिनको आधिकारिक वेबसाइटमा राखिएको दाबी गरेका छन् ।

मस्कोले युक्रेनमाथि आक्रमण सुरु गरेको सात महिनापछि पुटिनले जगेडा सैनिकलाई परिचालन गर्ने आदेश दिनुलाई पश्चिम र युक्रेनका कैयौँ सैन्य विशेषज्ञहरूले रुसी सेना युक्रेनको युद्धभूमिमा नराम्ररी असफल भइरहेको देखाउने बताउँछन् ।

जगेडा सैनिक परिचालनको आदेश जारी भएयता त्यसको विरोधमा भएका प्रदर्शनमा सहभागी भएको आरोपमा २ हजार जनाभन्दा बढी व्यक्ति पक्राउ परेका छन् ।

सोमबार एउटा पत्रकार सम्मेलनमा पुटिनका प्रवक्ता दिमित्री पेस्कोभले उनले रुसी सीमा बन्द गर्ने र देशमा सैन्य कानुन लागु गर्ने विषयमा कुनै निर्णय गरिएकोबारे आफूलाई जानकारी नभएको बताए । तर सञ्चारमाध्यमहरूले मानिसहरूलाई देश छोडेर भाग्नबाट रोक्न त्यस्तो गर्न सकिने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *