एजेन्सी । भारतले घरेलु मैदानमा अष्ट्रेलियाविरुद्ध जारी टी-२० आई सिरिज जीतेको छ । आइतबार राति भएको तेस्रो तथा अन्तिम टी-२० आईमा अष्ट्रेलियालाई ६ विकेटले पराजीत गर्दै भारतले तीन खेलको सिरिज २-१ ले आफ्नो पक्षमा पारेको हो ।
जीतको लागि १ सय ८७ रनको लक्ष्य पछ्याएको भारतले १९.५ ओभरमा ४ विकेटको क्षतिमा १ सय ८७ रन बनाउँदै लक्ष्य भेट्टायो । भारतलाई जीत दिलाउन सुर्य कुमार यादव र विराट कोहलीले शानदार अर्धसतक पूरा गरे । यादवले ३६ बलमा ५ छक्का र ५ चौकाको मद्दतमा ६९ रन बनाउँदा विराटले ६३ रन बनाए । उनले ४८ बलमा ४ छक्का र ३ चौका प्रहार गरे । यस्तै हार्दिक पान्डयले २५ र कप्तान रोहित शर्माले १७ रनको योगदान गरे ।
अष्ट्रेलियाको लागि डानियल साम्सले दुई विकेट लिँदा जोस हज्लेवुड र प्याट कमिंसले समान एक-एक विकेट लिए ।
यसअघि राजिव गान्धी अन्तराष्ट्रिय रंगशालामा भएको खेलको पहिलो इनिन्सको समाप्तिमा अस्ट्रेलियाले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ८६ रन बनाएको थियो । अष्ट्रेलियाको लागि क्यामेरोन ग्रीन र टिम डेभिडले अर्धसतक पूरा गरे । डेभिडले २७ बलमा ४ छक्का र २ चौकाको मद्दतमा ५४ रन बनाउँदा ग्रीनले ५२ रन बनाए । उनले २१ बलमा ७ चौका र ३ छक्का प्रहार गरे । यस्तै डानियल साम्सले २८ र जोस इंग्लिसले २४ रनको योगदान गरे ।
भारतको लागि अक्सर पटेलले ४ ओभरमा ३३ रन दिएर ३ विकेट लिँदा भुवनेश्वर कुमार, युज्वेन्द्र चाहाल र हर्सल पटेलले समान एक-एक विकेट लिए ।