जनकपुर । संसद्ले दोहोर्याएर पारित गरेको नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण नगरिदिनुमा नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई दोषी करार गर्ने मधेसमा अभियान चलिरहेको छ। अभियानलाई पाखा लगाँउँदै केपी ओली मधेसका गाउँगाउँ पुगेर मधेस केन्द्रित दलकै नेतालाई आफ्नो पार्टीमा भित्र्याउँदै गरेको दृश्यले मधेस राजनीतिलाई रोमाञ्चित बनारहेको छ।
शनिबार हावाई मार्गबाट मधेस प्रदेशको राजनधानी जनकपुरधाम आई विमानस्थलबाट बाहिरिने क्रममा केही युवाले उनलाई कालो झण्डा देखाएका थिए। तर, उनी रेल्वे स्टेसन पुगेर रेल चढ्दा सर्वसाधारणको भिड उर्लिएको थियो। भिड देखेर उत्साहित ओली रेलको झ्यालबाट लिकको छेउछाउ उभिएकालाई हात हल्लाउँदै अगाडि बढेका थिए।
जनकपुरमा रेल चढेर मैनाधपुर स्टेसनमा ओर्लिएर अध्यक्ष ओली त्यहाँबाट गाडीमै कार्यक्रम स्थलमा पुगेका थिए। कार्यक्रम स्थलमा पुग्नुअघि अध्यक्ष ओलीले जेल जीवनमा सँगै बसेका धनुषा सहिदनगर नगरपालिका–६ हरबाराका मुर्बल भनिने रामनारायण मण्डलको घरमा पुगेर चिया पनि खाएका थिए। मुर्बलको निधन भइसकेको छ।
मुर्बलका छोरा अपराजित मण्डल स्थानीय तहको निर्वाचनमा नेकपा एकीकृत समाजवादी पार्टीको टिकटमा सो वडाका वडाध्यक्षमा चुनाव लडेर पराजित भएका हुन्। अध्यक्ष ओलीले मण्डललाई फूलमाला लगाई पार्टीमा प्रवेश गराएका थिए।
ओलीको यो पहिलो मधेस यात्रा भने होइन। तर ओलीका लागि उत्साहजनक यात्रा भने ०७२ पछिको पहिलो हो। ०७२ को संविधान
०७५ वैशाख २८ गते रामायण सर्किटको उद्घाटन गर्न जनकपुरधाम आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जानकी मन्दिरमा स्वागत गरेर ओली सिधै काठमाडौं फर्किएका थिए।
०७५ भदौ २ गते ओलीको पुनः आगमन भयो, नेपालको प्रधानमन्त्रीको हैसियतमा र यो आगमन भने मधेसी दल नेतृत्वको सरकारले प्रदेशसभाको बैठकमा विशेष सम्बोधनका लागि निम्तो गरेको थियो। प्रदेशसभा बैठकको सम्बोधनलाई भरपूर उपयोग गर्दै उनले बिच्किएको मधेससँग सम्बन्ध गाँस्न पूरापूर प्रयास गरे। १ घन्टा ३८ मिनेटको त्यो मन्तव्यमा ओलीले मधेसमा हिँड्न बाटो सुल्झाएर फर्के।
अहिले अवस्था झन् सहज छ। न आन्दोलनको रापताप छ न त मधेसी दलबीच मिलाप । मधेसी दल आपसमा भिडेर चिराचिरा परेका छन्। जसपा र लोसपामा अन्तरविरोध व्याप्त छ। ओली यसैलाई ‘क्यास’ गर्न ‘मिसन मधेस’ सुरु गरेका छन्।
अहिले मधेसमा ओलीलाई स्वागत गर्न मधेसी दलकै नेताहरू तछारमछार गरिरहेका छन्। एमाले प्रवेश गर्ने लिष्टमा मधेसी दलकै नेताहरू बढी देखिन्छन्। स्थानीय तह निर्वाचन ०७९ को मत परिणामले पनि मधेसमा एमालेको सिट बढेको देखाउँछ। र एमाले प्रवेश गरेकाहरूको विवरणले अहिले मधेसमा एमालेप्रति एक हिसाबको आकर्षण बढेको पाइन्छ। त्यसैले ओली अहिले हौसिएर मधेस दौडाहा गरिरहेका छन्।
एमाले अध्यक्ष ओली १० दिनको अन्तरालमा तीनपटक मधेस प्रदेशको दौडाहा गरिसकेका छन्। तीनैपटक यहाँका १० जना प्रभावशाली नेताहरूलाई एमालेमा प्रवेश गराएर फर्केका छन्। जसमध्ये पाँचजना त सांसद मात्रै छन्। ओलीले मधेस प्रदेशबाट प्रतिनिधिसभाका दुई र प्रदेशसभाका तीन सांसद एमालेमा भित्र्याएका छन्।
