एजेन्सी । साविक विजेता फ्रान्स युईएफए नेसन्स लिगको पहिलो चरणबाटै बाहिरिदा क्रोएसिया सेमिफाइनलमा प्रवेश गरेको छ । आइतबार राति भएको खेलमा डेनमार्कसँग २-० गोलले पराजीत भएसँगै फ्रान्सले लिगमा तेस्रो हार बेहोरेको हो ।
पार्केनमा भएको खेलमा डेनमार्कलाई जीत दिलाउन कास्पेर डोल्बर्ग र एन्ड्रेस स्कोभ ओल्सेनले समान एक-एक गोल गरे । खेलको ३४ औं मिनेटमा डाम्सगार्डको पासमा डोल्बर्गले गोल गर्दै डेनमार्कलाई शुरुवाती अग्रता दिलाएका थिए । ३९ औं मिनेटमा डेइलिनेको पासमा ओल्सेनले गोल गर्दै डेनमार्कलाई पहिलो हाफमा २-० गोलको अग्रता दिलाए ।
दोस्रो हाफमा दुवै टोलीबाट थप गोल हुन नसक्दा डेनमार्क २-० गोलले विजयी भयो । जीतसँगै डेनमार्क ६ खेलबाट १२ अंकसहित दोस्रो स्थानमा रहँदा समान खेलबाट ५ अंक जोडेको फ्रान्स तेस्रो स्थानमा रहेको छ ।
गएरातिनै भएको समूहको अर्को खेलमा अष्ट्रियालाई ३-१ गोलले पराजीत गर्दै क्रोएसिया समूहको शीर्ष स्थानमा रहँदै सेमिफाइनलमा प्रवेश गरेको छ । क्रोएसियाको जीतमा लुका मोड्रिक, मार्को लिभाजा र डेजान लोभरेनले समान एक-एक गोल गरे । अष्ट्रियाको लागि क्रिस्टोफ बाउमगार्टनेरले एक गोल फर्काए ।
जीतसँगै क्रोएसिया ६ खेलबाट १३ अंक जोड्दै समूह ‘एक’को शीर्ष स्थानमा रहँदा पराजीत अष्ट्रिया ४ अंकको साथ पुछारमा रह्यो । क्रोएसियाको जीतसँगै फ्रान्स लिग ‘बी’मा घटुवा हुनबाट बाचेको छ भने अष्ट्रिया लिगबाट घटुवा भएको छ ।