फेरि सँगैसँगै दाहाल–भट्टराई: ‘अर्को जनयुद्ध आवश्यक छ’

काठमाडौं। लामो रस्साकस्सीपछि २०७२ असोज ३ गते संविधानसभाबाट संविधान जारी भयो। साता नबित्दै बाबुराम भट्टराई असोज ९ मा माओवादी केन्द्रलाई ‘भत्किएको रातो स्टिकर टाँसिएको घर’ भन्दै बाहिरिए। त्यसपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र भट्टराई एउटै मञ्चमा बिरलै देखिए।

१० वर्षे सशस्त्र संघर्ष, त्यसअघिको वाम स्कुलिङ र राजनीतिमा सहयात्रा गरेका यी दुईजनाको राजनीतिक दिशा र अजेन्डाले तालमेल खाएन। भट्टराई माओवादीबाट बाहिरिए। भट्टराई अहिले नेपाल समाजवादी पार्टीको अध्यक्ष छन्। तर पछिल्ला केही दिनयता उनीहरूबीचको सम्बन्ध बाक्लिएको छ। कटुता मधुरतामा परिणत भएको छ। भट्टराई माओवादी केन्द्रको निर्वाचन चिह्नमा चुनाव लड्ने निर्णयमा पुगेका छन्।

सम्बन्धमा सुधार भएसँगै अहिल दुवैजना एउटै मञ्चमा देखिन थालेका छन्। जहाँ उनीहरू एकअर्काका लागि आवश्यक भन्दै मन माझामाझ गर्छन्। र, सम्बोधनका क्रममा आफूहरूले विगत भुलेर सम्बन्ध पुनस्र्थापित गरिरहेको सन्देश पनि दिन्छन्। यसैक्रममा शनिबार पनि दुवैजना एउटै मञ्चमा देखिए।

भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीले चाडबाडको अवसर पारेर राजधानीमा शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो। जसमा माओवादी केन्द्रका अध्यक्ष दाहाल आमन्त्रित थिए। जहाँ दाहालले दुवै मिल्न लागेको सन्देश दिनेगरी भाषण गरे। दाहालले देशमा अर्को जनयुद्धको आवश्यकता रहेको अभिव्यक्ति पनि दिए।

उनले भट्टराईलाई साक्षी राखेर आफूहरूले ‘अर्को जनयुद्ध आवश्यक रहेको निष्कर्ष’ निकालेको बताएका हुन्। ‘अहिले फेरि बाबुरामजी र मैले २५ वर्षअघिको अवस्थालाई सोच्दै नयाँ जनयुद्धमा जाने निष्कर्ष निकालेका छौं,’ दाहालले भने, ‘यो भनेको समाजवादका लागि नयाँ खालको जनयुद्ध हुनेछ। पुरानो खालको होइन, त्यो किसिमको सम्भव पनि छैन।’

दाहालले भट्टराई र आफ्नै जोडबलमा विगतमा ‘जनयुद्ध’ भएको दाबी गरे। ‘नेतृत्व तहमा रहेका बाबुरामजी र मैले नै मुलुकलाई गणतन्त्रमा लैजान जनयुद्धबाहेक अर्को विकल्प छैन भन्ने निष्कर्ष निकालेको हुँ,’ उनले भने, ‘इतिहासको पनि र वर्तमानको पनि, देशभित्रको पनि र देशबाहिरको पनि, सबै परिस्थितिको गम्भीर ढंगले अध्ययन तथा लेखाजोखा गरेपछि जनयुद्ध गर्ने निष्कर्षमा पुगेका थियौं।’ नागरिक दैनिकबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *